अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा मेलम्चीको पानी वितरण

भक्तपुरमा मेलम्चीको पानी वितरण


भक्तपुर – भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा-१ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरुपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरिएको हो ।

सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आउनुभएको स्मरण गराउनुभयो ।

केयुकेएल भक्तपुरका सुरेन्द्र हिमालय श्रेष्ठले भक्तपुरका बासिन्दालाई  मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकामा गौरवान्वित महसुस भएको बताउँदै यसले भक्तपुरमा खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

मेलम्चीको पानी वितरणसँगै भक्तपुरका स्थानीय निकै खुसी देखिएका छन् । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख प्रजापतिलाई धन्यवादसमेत दिएका थिए । पानी वितरणसँगै ठाउँठाउँमा पाइप फुटेर पानी चुहिएको पनि देखिएको छ । त्यसलाई छिटै नै व्यवस्थापन गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ ।