अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजगढमा विमानस्थल नबनाउन सर्वोच्चको फैसलाविरुद्ध बारामा आन्दोलन चर्किँदै

निजगढमा विमानस्थल नबनाउन सर्वोच्चको फैसलाविरुद्ध बारामा आन्दोलन चर्किँदै


बारा – निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् ।

स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा आइतबार भएको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका छन् ।

धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

आज बेलुका ७ बजे पनि राजमार्गमा धर्ना तथा राँके जुलुस प्रदर्शन गर्ने सरोकार मञ्चका श्यामकृष्ण घिमिरेले बताउनुभयो । यसैगरी काठमाडौं‌मा बस्दै आएका निजगढवासीले पनि आज दिउँसो २:३० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएका छन्।

सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी स्वरुप आफूहरूले प्रदर्शन गरेको र थप कडाइका साथ प्रदर्शन गर्ने बाराका दामोदर मैनालीले बताउनु भयो। उहाँले अदालतले फैसला नसच्चाए थप आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । 

सर्वोच्चको अविवेकी फैसलाको पुर्विचार हुनुपर्ने भन्दै मैनालीले यदि जनताको माग नसुने थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो । त्यसैगरी, निजगढ सरोकार समितिले पनि अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने भएको छ । समितिले आन्दोलनको रणनीति तयार पार्न आज समितिको बैठक आह्वान गरेको संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले बैठकको निर्णयअनुसार आन्दोलन गरिने बताउनु भयो। समितिले यसअघि पनि विमानस्थलन निर्माणको माग गर्दै निजगढमा दबाबमूलक आन्दोलनको कार्यक्रम  संचालन गर्दै आएको थियो ।

विमानस्थल निर्माणको लागि दबाब दिने उद्देश्यले संघर्ष समिति गठन गर्न आगामी १७ जेठ मंगलवार निजगढमा सर्वपक्षीय भेलाको आयोजना गर्ने निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले जानकारी दिनुभयो ।