अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने


चितवन – विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका हुन् ।रेटिना विज्ञ डा संयम बजिमयले सात/आठ महिनामा एक दशमलव पाँच किलोग्रामभन्दा कम तौल भएका शिशुको अनिवार्य आँखा परीक्षण गराउनुपर्ने बताउनुभयो । त्यस्ता शिशुको समयमा आँखाको परीक्षण नभएमा अन्धो पनि हुन सक्ने उहाँको भनाइ थियो । डा बजिमयले भन्नुभयो “समयमा उपचार पायो भने कोही पनि अन्धो हुँदैन ।”

समय पुगेर जन्मिएका शिशुको पनि छ महिनभित्र आँखा परीक्षण गराउनुपर्ने उहाँले बताउनुभयो । नवजात शिशुमा बंशाणुगत रोग हुनसक्ने भन्दै डा बजिमयले समयमै उपचार पाएमा समस्या नहुने उल्लेख गर्नुुभयो ।पहिले पहिले कम तौलका शिशुहरुको उपचार कठिन थियो तर अहिले प्रविधिको विकास र जनशक्तिको व्यवस्थाले कम तौलका शिशुलाई बचाउन सकिएको छ । भरतपुर अस्पतालको बाल सघन उपचार कक्ष ९एनआईसियु०का प्रमुख तथा बरिष्ठ बाल रोग विशेषज्ञ डा ओमकृष्ण पाठकले अहिले कम तौलका शिशुलाई पनि उपचार गरेर बचाउन सकिएको बताउनुभयो ।

त्यस्ता शिशुको शरीरका अङ्ग कमजोर हुने जानकारी दिँदै उहाँले भन्नुभयो “रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी प्रमुख समस्या हुने गरेको छ ।”बालसघन उपचार कक्षमा राखेर अक्सिजन दिइएका, सङ्क्रमण भएका, जन्मदा कृत्रिम श्वासप्रश्वास दिनुपरेका, लामो समय सिप्याप र भेन्टिलेटरमा राखेर उपचार गरिएका शिशुलाई आँखामा समस्या आउने डा। पाठकको भनाइ थियो । सकेसम्म यसरी उपचार गर्नुपर्दा कम अक्सिजन दिने प्रयास गरिने भन्दै उहाँले आँखा स्क्रिनिङ गर्न सुझाव दिनुभयो ।शिशुको आँखाको समयमा उपचार हुन नसकेमा अन्धोपन हुन सक्ने र त्यस्ता शिशुलाई तीन चार हप्तामा आँखाको परीक्षण गराउन डा पाठकले सुझाव दिनुभयो ।

चितवन मेडिकल कलेजमा क्रिटिकल केयर हेर्दै आउनुभएका बाल रोग विशेषज्ञ डा विराज पराजुली ३७ हप्ता अघि जन्मिएका शिशुको शरीरले पूर्णता नपाउने बताउनुभयो । त्यस्ता शिशुको आँखाको रेटिना विकास नहुँदै अक्सिजन दिनुपर्ने अवस्था आयो भने र सङ्क्रमण भयो भने आँखामा समस्या आउने उहाँले सुझाउनुभयो । उपचार गर्दा यी कुरामा ध्यान दिनुपर्ने भए पनि आँखाको परीक्षण भने गर्नै पर्ने डा पराजुलीको तर्क थियो ।