बर्दिया-बर्दियाको गुलरिया नगरपालिका-४ बगही र बारबर्दिया नगरपालिका-११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण हुने भएको छ। पुल निर्माणका लागि सडक डिभिजन कार्यालय नेपालगञ्ज र निर्माण कम्पनी एमआर एन्ड ग्रुपबीच ठेक्का सम्झौता भएको छ।
सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टका अनुसार गत कात्तिक १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको हो। सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ।
६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँ लागतमा निर्माण हुने पुल दुई लेनको हुनेछ। पुलको लम्बाइ ४२० मिटर र चौडाइ ११ मिटर रहनेछ। निर्माण कम्पनीले सम्झौता भएको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन पेस गरी पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ।
सडक डिभिजन कार्यालय नेपालगञ्जले २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। ठेक्का प्रक्रियामा चार निर्माण कम्पनीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ।
बर्दिया क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पुल निर्माणको काम यथाशीघ्र सुरु गरी निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने बताएका छन्। उनका अनुसार उक्त पुल बारबर्दिया नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गको रम्मापुर चोकदेखि जयनगर बजार हुँदै जिल्ला सदरमुकाम गुलरिया र वडा नं. १० स्थित नेपाल–भारत सीमावर्ती क्षेत्र रजनवास जोड्ने प्रमुख सडक मार्गमा पर्छ।
पूर्व–पश्चिम राजमार्गबाट जयनगर बजार हुँदै गुलरिया तथा भारत आवतजावत गर्ने स्थानीयवासी र यात्रुले पुल नहुँदा लामो समयदेखि सास्ती भोग्दै आएका छन्।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण हुनुअघि नै २०७२ सालको बाढीले भासिएको थियो। पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए। तर, २०७९ सालको बाढीले पुलका चार मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको इन्जिनियर भट्टले बताए।
बारबर्दिया नगरपालिका–११ फच्कहवाकी मेनका चौधरीका अनुसार पुलका स्ल्याब बगाएपछि स्थानीयवासीले शुल्क तिरेर डुङ्गा वा काठे पुलको सहायताले नदी वारपार गर्नुपर्ने बाध्यता छ। नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि वर्षौंदेखिको समस्या समाधान हुने आशा पलाएको उनले बताइन्।
विशेषगरी बर्खायाममा बबई नदीमा बाढी आउँदा नदी वारपार गर्न थप कठिन हुने गरेको छ। पुल नहुँदा गुलरिया नगरपालिका–४ का स्थानीयवासी सदरमुकाम पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने वा जोखिम मोलेर डुङ्गाबाट नदी पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय राममिलन चौधरीले बताए। शुल्क तिरेर नदी पार गर्नुपर्दा स्थानीयवासीलाई थप आर्थिक भारसमेत पर्ने गरेको उनको भनाइ छ।
नयाँ पुल निर्माण सम्पन्न भएपछि गुलरिया र बारबर्दियाका स्थानीयवासीको आवागमन सहज हुनुका साथै पूर्व–पश्चिम राजमार्ग, जिल्ला सदरमुकाम र नेपाल-भारत सीमावर्ती क्षेत्रबीचको सडक सम्पर्कसमेत सहज हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया