अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारीको भिजिटिङ कार्ड बनाउन नपाउँदा…..

मदन भण्डारीको भिजिटिङ कार्ड बनाउन नपाउँदा…..


पञ्चायती शासनको उत्कर्षको बेला, २०४६ साल भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक, कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात हराउनुभयो । लामो समय उहाँको पत्तो भएन । एकदिन आउनुभयो र धारावाहिक खबरसहित आउनुभयो – खवर थियो, ‘नेकपा मालेको सिराहामा सम्पन्न चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।’ अनि क्रमशः लेखहरू आउन थाले राजमति र अभिमन्युको नाममा,सोभियत संघलाई हेर्ने दृष्टिकोण के हो भन्नेबारे पनि बिक्रम नेपाली (गोपाल शाक्य समूह)बाट बहस छेडिन थाले किनकि त्यतिखेर त्यहाँको कम्युनिस्ट पार्टीका महासचिव मिखाइल गोर्वाचेभको पेरेस्त्रोइका र ग्लास्तनोस्तवाला उदारवादी हावा जो उत्कर्षमा थियो ।

त्यसैगरी चीनको थ्यानआनमेन चोकलाई पनि स्वतन्त्रता र प्रजातन्त्रका नाममा विद्यार्थीहरूको धर्नाले तनाव थप्दै थियो । हाम्रै टीमका अग्रज रघु पन्तलाई समेत चीनको तरंगले नछुने कुरै भएन । त्यसैले उहाँ त्यस्तै स्वतन्त्रताको पक्षमा लेख्न थाल्नुभयो । यसरी पार्टीको आधिकारिक पत्रिका दृष्टि पार्टी लाइनभन्दा अलि बाहिर जाने हो कि भन्ने त्रास उत्पन्न भयो । र, दृष्टिभित्रकै यौटा टीम नवयुग नामक बुलेटिन निकाल्ने काममा खटियो । त्यसमा पर्दा पछाडिबाट सँलग्न हुनुहुँदोरहेछ, मदन भण्डारी ।

नवयुग त निकाल्यौँ भूमिगत रूपमा । तर, बजारमा लैजान र प्रशासनको आँखामा बैधानिकताको धुलो छ्याप्न सम्पादक, प्रकाशकको नाम राख्नै पर्थ्यो । त्यसैले नेकपा मालेको सर्ट फर्म नेत्र कमल पाठक, मानेडाँडा लेकथुम भन्ने नाम र थरसहित जुराएर नक्कली काम गरियो । फागुनदेखि त आन्दोलन सुरु भैहाल्यो । २०४६ सालको परिवर्तनलगत्तै मदन भण्डारी एकदिन सुनकोशी छापाखाना, कालीमाटीको कार्यालयमा खुसुक्क प्रकट हुनुभयो । त्यतिबेलासम्म हामीले उहाँलाई मदन भण्डारी नै हो भनेर चिनिसकेको अवस्था थिएन । मोटोमोटो ज्यान, हँसिलो, मीठो बोल्ने, त्यस्तो पात्रलाई हामीले पार्टीको ठूलै नेता भनेर त चिन्यौँ तर महासचिव भनेर उहाँ खुलिसक्नुभएको थिएन ।

नवयुग त निकाल्यौँ भूमिगत रूपमा । तर, बजारमा लैजान र प्रशासनको आँखामा बैधानिकताको धुलो छ्याप्न सम्पादक, प्रकाशकको नाम राख्नै पर्थ्यो । त्यसैले नेकपा मालेको सर्ट फर्म नेत्र कमल पाठक, मानेडाँडा लेकथुम भन्ने नाम र थरसहित जुराएर नक्कली काम गरियो ।

पार्टी प्रवक्ताको रूपमा उहाँका बोली व्यवहारबाट हामी प्रभावित नहुने कुरै भएन । कति नै थिए र त्योबेला पार्टीनिकट पत्रकार र पार्टीका आफ्ना अखबार ! कति नै थिए र संकटको घडीमा काँध थाप्ने गरी प्रकट हुने बफादार, अनुशासित बुध्दिजीवी र कलमजीवी सिपाहीहरू ! एक नम्बर वरियताको नेता भैकन पनि सबैसङ्ग बस्ने, खाने, मन माझ्ने, घमण्ड नगर्ने, ठूलो नपल्टिने, राम्रो लवाइखुवाइ नगर्ने मानिसलाई प्रवक्ताको रूपमा छेउमै पाउनु ७०० रूपैयाँ तलबको भरमा काम गर्ने हाम्रानिम्ति गर्वको बिषय थियो ।

विद्यार्थी राजनीति गर्ने, त्यहाँबाट बचेको समय पत्रकारितामा पनि लगाउने काममा खटिएका हामीलाई सरल र सहज नेताको साथ पाउँदा कम्युनिष्ट आदर्श भनेको यस्तो हुनुपर्छ भन्ने लाग्ने नै भयो । सुनिरहुँजस्तो लाग्ने, संस्कृत र उर्दूमा झर्रो नेपाली मिसिएको त्यस्तो बोलीको धनी मदन भण्डारी आएर सुनकोशी छापाखानामा हामीलाई उर्जा दिइरहनुभयो । पछि पो चिन्यौँ, यतिन्जेल हामीसङ्ग रम्ने उहाँ पार्टीको महासचिव नै हुनुहुँदो रहेछ । अब विदेशीहरूसँगको भेटघाट बाक्लिन थाले । त्यससँगै बागबजारमा पार्टी कार्यालय खुल्यो । त्यहाँ हाम्रो पनि जाने–आउने क्रम चल्ने नै भयो । दृष्टिको तत्कालीन व्यवस्थापनमा अनुशासन र मितव्ययिता भन्दै टीमको खाजा कटौती गरेर काममा जोताउने तर अरु नै नेताहरूलाई भने सँस्थाको खर्चबाट ओभरकोटसमेत किनिदिने साथीहरू पनि हुनुहुन्थ्यो तर हामीले यसमा कुनै गुनासो गरेनौँ । किनभने थाहा थियो, हामी जे गर्दैछौँ, पार्टीको लागि गर्दैछौं र यहाँ मदन भण्डारीजस्तो नेता पनि हुनुहुन्छ जो सादगीमा विश्वास गर्नुहुन्छ र सामूहिकतामा रमाउनुहुन्छ । त्यसले गुनासो उठ्न नदिने काम स्वतः हुने नै भयो ।

शीर्ष नेतृत्व गुणी हुँदा या इन्जिन दह्रो भैदिँदा रेलका डब्बाहरू उर्जारूपी कोइला कम भए पनि छुकछुक गतिमै किन नहोस् लिक नछाडी कुदिरहन्छन् भन्ने यो मीठो भोगाइ हो मेरो जीवनको ।

शीर्ष नेतृत्व गुणी हुँदा या इन्जिन दह्रो भैदिँदा रेलका डब्बाहरू उर्जारूपी कोइला कम भए पनि छुकछुक गतिमै किन नहोस् लिक नछाडी कुदिरहन्छन् भन्ने यो मीठो भोगाइ हो मेरो जीवनको । एकदिनको सम्झना छ, मदनले भिजिटिङ कार्ड बनाउनुप¥यो भन्नुभएको । नक्सालमा डेरा थियो उहाँको । सायद हामी प्रेससँग सम्बद्ध रहेको र त्यो पनि पार्टीकै पृन्टिङ्ग प्रेस भएको हुनाले अखबार छपाइसहित दुबै काम एक ठाउँबाट हुने गर्दछ भन्ने लागेको थियो होला उहाँलाई, त्यसैले भिजिटिङ कार्ड बनाइदिन मलाई भन्नुभएको । तर, सुनकोशी छापाखानाको व्यवस्थापक त उत्तम महत हुनुहुन्थ्यो । पैसाको मामिलामा उत्तिकै कडा उहाँले त्यत्तिकै किन छाप्न मान्नुहुन्थ्यो र ? जीवनमा मलाई अफसोच यही छ कि, मैले मदन कमरेडलाई त्यहीबेला उहाँको चाहनाअनुसार भिजिटिङ कार्ड छापेर दिन सकिनँ, न त मेरो सीमा र बाध्यता नै बताउन सकेँ । तर, पनि म सधैँ उहाँको प्रिय भइरहेँ भन्ने कुरामा अझै पनि गर्व गर्दछु ।

उहाँले एउटा आशालाग्दो, भर्खर उदाएको पत्रकार हो, यसलाई उठाउनुपर्छ भनेरै मलाई इण्डिया लिएर जानुभयो भने राजेन्द्र स्थापितलाई कलकत्ता लानुभयो । पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति बसुसँगको भेटघाट, विनोद मिश्रसँगको छलफल र भाकपा माले (लिबरेशन) को कलकत्ताको ब्रिगेड मैदानमा आयोजित आमसभालगायतका कार्यक्रमहरूमा सरिक गराउनुभयो । म भाकपा मार्क्सवादीका महासचिव हरकिसनसिंह सुरजितलगायत भाकपा मालेकै दिल्लीस्थित हेडक्वार्टरको भ्रमण,कम्बोडियन र भियतनामी दूतावासमा राजनीतिक मामिला हेर्ने अफिसरहरूसँगको भेटघाटमा पनि सरिक भएँ । झिल्लुप्रसाद तिवारी, केशवलाल श्रेष्ठ पनि त्यतिखेर सँगै हुनुहुन्थ्यो । हामी पुरानो दिल्लीको एउटा धर्मशालामा बास बसेको, सँगै सादगी भोजन गरेको, हाइफाइवाला होटेल, गाडी र खाना नखोजेको–मदनको त्यस्तो सादगी जीवनको सम्झना छ मसङ्ग ।

पार्टीको आधिकारिक पूर्वप्रकाशन भइकन पनि प्रकाश साप्ताहिक महाधिवेशनताका सिपी मैनाली निकट भएर छापिन थाल्यो । र, मदनले नै आफ्नो अन्तर्वार्ता दृष्टि र दृष्टिको सहप्रकाशन सूर्य मासिकमा प्रकाशन हुने तयारीका वीच मोहनचन्द्र अधिकारी र सिपी मैनालीको पनि विचार लिएर सँगै छाप्नुहोला है, यसले गर्दा सन्तुलन रहन्छ, पेशागत मर्यादा देखिन्छ, एकपक्षीय होइन भन्ने पनि पुष्टि हुन्छ भन्दै मलाई निर्देशन दिनुभयो, मैले कहिल्यै नबिर्सने प्रसङ्ग हो ।

त्यसरी फर्केपछि पाँचौँ महाधिवेशनको चटारो र टनकपुर (महाकाली) सन्धिको उत्कर्षवीच महाकाली गएको,जुलुसमा सामेल भएको र टनकपुर बाँधको निरीक्षण गरेको,दाङ्ग हुँदै फर्केको पनि सम्झना छ । त्यतिखेर पार्टीमा अलिकति फरक मत पनि प्रकट भइसकेको स्थिति थियो । अशोक राई, सिपी मैनालीहरूको एउटा धार थियो । अशोक राई र मदन पूर्वमा पनि सँगै काम गर्नुभएको हुनाले एकै ठाउँमा हुनुहोला भन्ने त लाग्थ्यो तर उहाँहरूको वीचमा लाइनको हिसाबले फरकपना आइसकेको रहेछ । त्यसैले अशोक राई फरक कित्तातिर हुँदाखेरि सँगै गाडीमा लिएर आउने कि नआउने भन्ने कुरा पनि अलिअलि विवाद हुँदा मदनले हैन,त्यसो नगरौँ भनेर सँगै हिँडाउनुभएको मसङ्ग अर्को सम्झना छ ।

पाँचौँ महाधिवेशनको बेला प्रचारको क्रममा हामी जुटेको, खुलेको पनि सम्झना छ । प्रज्ञा भवनभित्र महाधिवेशनको हलमा रघु पन्त सामाजिक जनवादको लाइन लिएर आउनुभएको थियो,तर आफ्नो एक भोट पनि नहालिकन राती नै निस्केर घर जानुभयो । सिपी मैनाली, मोहनचन्द्र अधिकारी,सानु श्रेष्ठ (हाल बाग्मती प्रदेश सभामुख) लगायत एउटा पंक्ति मदनको लाइनको विपक्षमा थियो भने पूर्व महासचिव झलनाथ खनाल बहुदलीय जनवादलाई “दक्षप्रजापतिको टाउको“ भनिराख्नुहुन्थ्यो ।

यही सेरोफेरोमा मदनले बहुदलीय जनवादवारे ब्याख्यासहित दृष्टिलाई एउटा अन्तर्वार्ता दिनुभयो । मैले नै लिएको अन्तर्वार्ता हो त्यो । मेरो अडियो उतारपछि आफैँले आएर त्यसमा सामान्य करेक्सन गर्नुभयो र बेलुका फोन गरेर जहाँ जहाँ बहुदलीय जनवाद छ, त्यसको अगाडि “जनताको“ भन्ने शब्द थप्न लगाउनुभयो । मैले यसरी भीमसेन राजवाहकलाई सिसाको अक्षरमा एक एक शब्द टिप्दै तयार पार्न लगाएको “कालीदासको क नपढी जनताको बहुदलीय जनवाद बुझिन्न“ शीर्षकको त्यो अन्तर्वार्ता प्रकाशन गरेको आजैजस्तो लाग्छ ।

पार्टीको आधिकारिक पूर्वप्रकाशन भइकन पनि प्रकाश साप्ताहिक महाधिवेशनताका सिपी मैनाली निकट भएर छापिन थाल्यो । र, मदनले नै आफ्नो अन्तर्वार्ता दृष्टि र दृष्टिको सहप्रकाशन सूर्य मासिकमा प्रकाशन हुने तयारीका वीच मोहनचन्द्र अधिकारी र सिपी मैनालीको पनि विचार लिएर सँगै छाप्नुहोला है, यसले गर्दा सन्तुलन रहन्छ, पेशागत मर्यादा देखिन्छ, एकपक्षीय होइन भन्ने पनि पुष्टि हुन्छ भन्दै मलाई निर्देशन दिनुभयो, मैले कहिल्यै नबिर्सने प्रसङ्ग हो ।

विजय सैँजु र मैले नै हो नक्सालको डेरामा उहाँले घाम ताप्दै ,दृष्टि पढ्दै गरेको, खैरो कोट र कालो टोपीमा सजिएको तस्बिर खिचेको, जुन तस्विर अहिले पनि प्रयोग हुन्छ बेला बेला । संयोगवश २०५० को वैशाखतिर उहाँ चीन जाने कुरा चल्यो । त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरियताक्रममा हुनुहुन्थ्यो हु चिन्ताओ, उहाँसँग पनि भेट गर्ने कार्यक्रम बन्यो । अमृत बोहरा, सानु मिश्र, हरि पाण्डे, माधवकुमार नेपाल, केपी ओली, मुकुन्द न्यौपाने, योगेन्द्र साहलगायतको टिम छनोट हुँदाखेरि मदनले पत्रकारको तर्फबाट मलाई पनि राख्नुभएको थियो । तर पछि के कारणले हो, म त्यसमा परिनँ । उताबाट खबर भने आइराख्थे फोनमा,हामी न्युज टिप्थ्यौँ, लेख्थ्यौँ र देशवासीलाई सुसूचित गर्थ्यौ । अहिलेजस्तो इमेल, फेसबुकको जमाना कहाँ थियो र जहाँ कहिँबाट फ्याट्ट सेन्ड या पोस्ट गर्नलाई ! उताबाट फर्केपछि पोखरा हुँदै चितवन जाने कुरा भयो ।

जेठ १ गते उहाँ पोखरा जानुअगाडि बेलुका मेरो टेलिफोनमा अन्तिम संवाद भयो । उताबाट न्युज कसरी पठाउने त भन्ने कुरा उठ्दा उहाँले ड्राइभर अमर लामाले कार्यक्रम अवधिभर सँगै बसेर त्यसको टिपोट गर्ने र पछि फोनमा टिपाउने, अनि मैले त्यसआधारमा न्युज बनाउने भन्ने सहमति भएको थियो । तर, अफसोच अमर लामाबाट आउने भनिएका महासचिव र सँगठन विभाग प्रमुखका गतिविधिसम्बन्धी समाचार जेठ ३ गते दिउँसो दासढुङ्गाबाट अर्कै रूपमा, अर्कै श्रोतबाट सुन्न पर्यो । त्यसपछिका प्रसंगहरू त सबैसामु छर्लङ्गै छन् ।

उहाँ पिलग्रिम्स बुकस्टोरमा यस्तो किताब पाइन्छ, न्यूयोर्क टाइम्समा यस्तो सामग्री छापिएको छ, खोजेर ल्याइदिनु भन्नुहुन्थ्यो । ती आग्रहको लिखत मसँग सुरक्षित छ । उहाँले भनेका प्रायः सबै कामहरू मैले इमानका साथ र मनैदेखि कार्यान्वयन गर्न सकभर कोसिस गरेँजस्तो लाग्छ । एउटै गुनासो छ, त्यो भिजिटिङ कार्ड बनाएर लगिदिन सकिनँ । त्यसो त त्यतिखेर विदेश विभागमा बसेका र विदेशीसँग सम्बन्ध राख्ने भनिएका युवा संघका उदयराज पाण्डेसहित जल्दाबल्दा साथीहरूले मैले त्यसरी भिजिटिङ्ग कार्ड बनाएर लग्दा अन्यथा मान्ने खतरा पनि छँदै थियो । कारक र कारण जेसुकै होस्, यत्ति जिम्मेवारी पूरा गर्न नसकेकोमा चाहिँ मलाई खेद छ, दुःख छ । घरिघरि लाग्छ, त्यति सानो काम पनि किन गर्न सकिनँ होला !