अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिनुभएको छ । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।

उहाँले आफनो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताउनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रशिक्षक दासानायकेलाई गत गतवर्ष मङ्सिरमा खुला छनोटबाट दुई वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । उहाँले एक वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिनुभएको छ ।

दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षको जिम्मेवारी बहन गर्नुभएको थियो । उहाँको पहिलो कार्यकालमा नेपालले निकै ठूलो र ऐतिहासिक सफलता हासिल गरेको थियो । सन् २०१४ मा बङ्गलादेशमा आयोजित आइसिसी टि–ट्वान्टी विश्वककप प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो ।

त्यस्तै उहाँकै प्रशिक्षणमा नेपालले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । उहाँको पहिलो कार्यकाल निकै फलदायी भए तापनि दोस्रो कार्यकालले खासै सफलता हासिल गर्न सकेन ।  यसैसाता स्कटल्याण्डमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत घरेलु टोली स्कटल्याण्ड र नामिवियावीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा सफलता हासिल नगरेपछि उहाँ आलोचित बन्न पुग्नुभएको थियो ।

त्यतिबेला नेपालले खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित हात पारेको थियो । पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीको खराब नतिजाका कारण उहाँ दबाबमा पर्नुभएको थियो ।