अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा किसानलाई ३६ लाख वितरण

लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा किसानलाई ३६ लाख वितरण


रसुवा – वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले किसानलाई रु.३६ लाख राहत रकम वितरण गरेको छ।

जङ्गली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्तिवापत उक्त रकम प्रदान गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटृराईका अनुसार किसानलाई गत एक वर्षको अवधिमा उक्त राहत रकम वितरण गरिएको हो । राहत पाउनेमा पशु चौपाया नोक्सान भएका ८१, अन्नबाली क्षतिका चार सय आठ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका पाँच स्थानीय बासिन्दा छन् ।

वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिको हकमा सरकारी अस्पतालमा उपचार भएको बिलबमोजिम र अन्नबाली तथा चौपाया क्षतिका सम्बन्धमा मापदण्डको परिधिभित्र रही स्थानीय मूल्याङ्कनका आधारमा क्षतिपूर्ति प्रदान गरिँदै आएको छ ।

यस्तै निकुञ्जको संरक्षणकार्य प्रभावकारी बनाउन गत आर्थिक वर्षमा सम्पन्न विकास कामको प्रगति एवं खर्चसमेत सार्वजनिक भएको छ । विनियोजित रकम रु.२८ लाख ८८ हजारमध्ये लक्षित विकास निर्माणका संरचना तयार गराउन रु २५ लाख २५ हजार खर्च भएको र समग्र प्रगति ९१ दशमलव ८२ प्रतिशत पूरा भएको निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिनुभयो ।