काठमाडौ- दशैंको मुखमा सरकारले डिजेल र मट्टीतेलको मूल्य बढाएर जनतालाई थप समस्यामा पारेको छ ।
गएराती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ।
निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ।
हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाइ इन्धन आन्तरिकको प्रतिलिटर १९० रूपैयाँ छ।
निगमले बिहीबार भारतीय आयल कर्पोरेसन आइओसीबाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ ।
निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १।३९ रूपैयाँ, डिजेलमा ६।१२ रूपैयाँ र हवाइ इन्धनमा ८।०१ रूपैयाँ बढेर आएको छ। मट्टीतेल र ग्यासको भने भाउ केही घटेर आएको छ।
यसका बाबजुद पन्ध्र दिनमा ४८ करोड २४ लाख रूपैयाँ घाटा हुने स्थिति देखिएकाले मट्टीतेल र डिजेलको भाउ बढाइएको निगमले बताएको छ।
जारी विज्ञप्तिअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३७८.०७ रूपैयाँ र डिजेलमा ११.१८ रूपैयाँ घाटा छ। पेट्रोलमा भने २.८२ रूपैयाँ नाफा छ।
मूल्य समायोजनपछि पनि पन्ध्र दिनमा ३० करोड ५२ लाख रूपैयाँ घाटा हुने अवस्था रहेको निगमले बताएको छ।
प्रतिक्रिया