अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीशलाई नजबरन्दमा किन राखियो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : अध्यक्ष ओली

प्रधानन्यायाधीशलाई नजबरन्दमा किन राखियो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विना पक्राउ पुर्जी नजरबन्द गरिएको तथा सुरक्षाकर्मी खोसिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ माग गर्नु भएको छ ।

पूर्वआर्इजीपी सर्वेन्द्र खनाल लगायतलाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘गठबन्धनले कम्फरटेबल मिडिया र कथित नागरिक आन्दोलनको समेत समर्थनमा देशमा स्वेच्छाचारी शासन चलाउन थालेको छ । अकुपाइ बालुवाटार भनेर एमालेको पालामा कराउनेहरु प्रायोजित थिए भन्ने अहिले प्रस्ट भएको छ ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘स्वतन्त्र न्यायपालिका आज गठबन्धनको आज्ञापालक बनाइएको छ । प्रधानन्यायाधीश जबरालाई गैरकानूनी थुनामा राख्ने, हाउस एरेस्टमा राख्ने सोच्न सकिन्छ ? प्रधानन्यायाधीशकी छोरीलाई पक्राउ गरेर दिनभर चौकीमा राखेर आतंकित पारिएको छ । आज एकजनालाई पर्‍यो भनेर बसियो भने यो समस्या भोलि सबै नागरिकमाथि पर्नेछ ।’

प्रधानन्यायाधीशको सुरक्षा गृहमन्त्रीको तजबिजबाट हटाइएको भन्दै यसबारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनु भयो । गठबन्धनकै सभामुखले सात महिनासम्म महाअभियोग थन्क्याएर राखेको र अहिले संसदको समितिले त्यसलाई अस्वीकार गरेपछि प्रधानन्यायाधीशलाई हाउस एरेस्ट गरिएको ओलीको आरोप छ ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, कुन कानूनअन्तर्गत प्रधानन्यायाधीशलाई विना पक्राउ पुर्जी नजबरन्दमा राखिएको हो ? तपाईंले लगाएको अभियोग संसदले वास्ता गरेन, गठबन्धनको सभामुखले गरेन । सात महिनासम्म वास्ता नगर्ने, अनि अहिले सेक्युरिटी, भान्से खोस्ने, इन्टरनेट काट्ने, पानीको पाइप काट्ने, के के गर्न जानुभयो ? लोकतन्त्रको नाम लिन सरम लाग्दैन ?’