बुटवल-नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार बाह्य शक्तिको खेलौना बनेको आशंका उत्पन्न भएको बताएका छन्। सरकारको कार्यशैलीले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पारेको उनको आरोप छ।
सोमबार रुपन्देहीको बुटवलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारको गतिविधिले मुलुकभित्र मात्रै नभई छिमेकी देशहरूमा समेत यस्तो आशंका पैदा गरेको बताए।
‘भूराजनीतिक द्वन्द्वबिच नेपाल सरकार र त्यसको नेतृत्व जुन ढंगले परिचालित भइरहेको छ, त्यसले मुलुकको संवेदनशील भू-राजनीतिक अवस्थालाई जोखिममा पारेको आशंका धेरैमा देखिएको छ,’ महासचिव पोखरेलले भने।
महासचिव पोखरेलले पछिल्लो समय मुलुकको लोकतन्त्रको भविष्यसमेत संकटमा पर्दै गएको दाबी गरे। लोकतन्त्रको आधार संगठित हुने र आफ्ना विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएको उल्लेख गर्दै उनले विश्वविद्यालय तथा क्याम्पसहरूमा विद्यार्थी संगठनका गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको आरोप लगाए।
त्यस्तै, ट्रेड युनियनका गतिविधि नियन्त्रण गर्न खोजिएको भन्दै महासचिव पोखरेलले सरकारको आलोचना गरे। गृह मन्त्रालयको आदेशका नाममा प्रदर्शन तथा विरोधका गतिविधि रोक्न दबाब दिने र सञ्चारमाध्यमबाटै पत्रकार पक्राउ गर्नेजस्ता कार्यले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको उनको भनाइ थियो।
पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि पनि सरकारको व्यवहार उचित नभएको महासचिव पोखरेलले बताए। प्रधानमन्त्रीका सल्लाहकारले सामाजिक सञ्जालमार्फत पत्रकारलाई लक्षित गरी टिप्पणी गर्ने गरेको प्रसंग उल्लेख गर्दै उनले पत्रकारितालाई नियन्त्रण गर्ने प्रवृत्ति देखिएको आरोप लगाए।
राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिहरूले परिपक्व व्यवहार देखाउनुपर्नेमा सामाजिक सञ्जालका गतिविधि र टिप्पणीमा अल्झिने गरेको उनको टिप्पणी थियो।
‘राज्य राज्यजस्तो छैन, सरकार सरकारजस्तो छैन,’ महासचिव पोखरेलले भने, ‘राज्यका कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको व्यवहार बालबालिकाले खेल्ने भाँडाकुटी खेलेजस्तो देखिन थालेको छ।’
यस्ता गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउनुका साथै संविधानको कार्यान्वयन र राज्यका संस्थागत आधारसमेत कमजोर बनाउँदै लगेको पोखरेलको आरोप थियो।



प्रतिक्रिया