अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईजीपी कार्कीले बोलाए आकस्मिक पीसीसी बैठक, सातै प्रदेशका डीआईजी सहभागी हुँदै

आईजीपी कार्कीले बोलाए आकस्मिक पीसीसी बैठक, सातै प्रदेशका डीआईजी सहभागी हुँदै


काठमाडौं-प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नीति समन्वय समिति (पीसीसी) को आकस्मिक बैठक बोलाएका छन्। प्रहरी प्रधान कार्यालयमा आज दिउँसो २ बजे बस्ने बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित काठमाडौं उपत्यकाभित्र कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई समेत बोलाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बैठकमा सहभागी हुन सबै प्रदेशका डीआईजीहरूलाई बिहीबार मध्याह्न १२ देखि साढे १२ बजेसम्म काठमाडौंस्थित प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी रहेको छ।

सामान्यतया पीसीसी बैठकमा काठमाडौं उपत्यकाभित्रका डीआईजी र अतिरिक्त महानिरीक्षक (एआईजी) लाई मात्रै सहभागी गराउने गरिएको थियो। तर यसपटक सातै प्रदेशका डीआईजी र उपत्यकाभित्रका एसएसपीहरूलाई समेत बोलाइएको छ।

प्रहरी संगठनमा नीतिगत निर्णय तथा सामूहिक धारणा निर्माणका लागि महत्त्वपूर्ण मानिने पीसीसी बैठकमा यसपटक मुख्य रूपमा शान्ति सुरक्षाको अवस्था, संगठनको आन्तरिक व्यवस्थापन र समसामयिक विषयमा छलफल हुने बताइएको छ।

सरकार र आईजीपी कार्कीबीच सम्बन्ध बिग्रिएको तथा प्रधानमन्त्रीले उनलाई पदबाट हटाउन चाहेको भन्ने विषय सार्वजनिक भइरहेका बेला कार्कीले आकस्मिक रूपमा बैठक बोलाएका हुन्। यद्यपि, बैठक बोलाउनुको औपचारिक कारण र सरकारसँगको सम्बन्धबारे प्रहरी प्रधान कार्यालयबाट थप आधिकारिक जानकारी सार्वजनिक भएको छैन।