अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपकार बिर्सिएको बाघ र नेपाली राजनीतिको यथार्थ

उपकार बिर्सिएको बाघ र नेपाली राजनीतिको यथार्थ


कहिलेकाहीँ एउटा दृष्टान्तले राजनीतिका अनेकौँ पाटा उजागर गरिदिन्छ। एउटा सानो कथा हुन्छ, तर त्यसले बोकेको सन्देश निकै गहिरो हुन्छ । सत्ता, शक्ति, कृतज्ञता, विश्वासघात र समयको फेरबदल बुझ्न ठूलाठूला राजनीतिक सिद्धान्त पढिरहनु पर्दैन। हामीले पढेको एउटा मुसाको कथा नै पर्याप्त हुन सक्छ। एउटा ऋषि थिए। उनले बाटोमा एउटा मुसा भेटे। सानो जीव देखेर ऋषिलाई माया लाग्यो। मुसालाई घरमा ल्याए, हुर्काए, बढाए र संरक्षण दिए। ऋषिसँग अद्भुत शक्ति थियो। उनले चाहेको खण्डमा मुसालाई जुनसुकै जीवमा परिवर्तन गर्न सक्थे। एक दिन मुसाले भन्यो, ‘गुरुदेव, मलाई बिरालोसँग डर लाग्छ। मलाई बिरालो बनाइदिनुस्।’ ऋषिले तथास्तु भने। मुसा बिरालो बन्यो। केही दिनपछि बिरालोलाई कुकुरसँग डर लाग्न थाल्यो। उसले फेरि ऋषिसँग भन्यो, ‘गुरुदेव, मलाई कुकुर बनाइदिनुस्।’ ऋषिले त्यसै गरे। कुकुर बनेको जीव केही समयपछि बाघसँग डराउन थाल्यो। उसले ऋषिसँग बाघ बनाइदिन आग्रह गर्‍यो। ऋषिले फेरि तथास्तु भने। अब त्यो जीव शक्तिशाली बाघ बनिसकेको थियो। तर विडम्बना के भयो भने, आफूलाई जीवन दिने, संरक्षण गर्ने र मुसाबाट बाघ बनाउने ऋषिलाई नै उसले चिन्न छाड्यो। उपकार बिर्सियो, विगत बिर्सियो र आफ्नो सामर्थ्यको स्रोत बिर्सियो। अन्ततः त्यही ऋषिमाथि झम्टिन पुग्यो, जसले उसलाई अस्तित्व दिएको थियो। ऋषिले आफ्नो सुरक्षाका लागि त्यही बाघलाई फेरि मुसा बनाइदिए।

यो एउटा कथा हो। तर यसले उठाउने प्रश्न भने वास्तविक जीवनसँग जोडिएको छ, शक्ति पाएपछि मानिसले आफ्नो धरातल बिर्सनु कति उचित हो ? आफूलाई अघि बढाउन सहयोग गर्ने हातलाई नै एक दिन आक्रमण गर्नु कृतघ्नता होइन र ? अनि, कुनै समय कसैको संरक्षणमा हुर्किएको व्यक्ति शक्तिशाली भएपछि उसैविरुद्ध उभियो भने त्यसलाई समयको विडम्बना भन्ने कि स्वार्थको राजनीति? यही दृष्टान्तलाई मेरो जीवनमा पनि महसुस गरेकोछु र नेपालको समकालीन राजनीतिसँग जोडेर हेर्न सकिन्छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रालाई लिएर अनेकौँ बहस भइरहेका बेला यो कथा झनै सान्दर्भिक लाग्न सक्छ। केपी शर्मा वलिले मुसालाई विरालो पनि बनाए, विरालोलाई माग अनुसार कुकुर पनि बनाया , कुकुरलाई उसैको माग अनुसार बाघ पनि बनाए तर त्यसपछि झम्टने खोज्ने केहि बाघलाई पहिलेकै मुसाको अवस्थामा ल्याउने उपर्युक्त समय नपाउदा वा मुसा बनिसक्दा पनि बाघको जस्तो गरि केही मुसाहरु उनि माथि  झम्टिन आक्रमण गर्न प्रयास गरिरहेका छन। जब मानिसले नैतिकता बिर्सिन्छ अवसर को पछि लाग्छ र क्षणिक स्वार्थका पछि रुमलिन्छ अनि समाज पनि अस्वस्थ बन्न पुग्छ।

यही पृष्ठभूमिमा राधिका आमासँग हिजो राति भएको एउटा लामो संवादले मलाई गहिरो रूपमा छोयो। कुराकानीका क्रममा उहाँले व्यक्त गर्नुभएका भावना, असन्तुष्टि र प्रश्नहरू केवल एउटा राजनीतिक परिवारको पीडामा सीमित थिएनन्। उहाँको भनाइमा एउटा गम्भीर चिन्ता थियो हामी कस्तो समाज निर्माण गर्दै छौँ ?, जहाँ आरोप लगाउन प्रमाण नचाहिने, कसैलाई दोषी ठहर गर्न अनुसन्धान कुर्नु नपर्ने र भीडले बनाएको धारणा नै सत्यसरह स्थापित हुने अवस्था बन्दै गएको छ । राधिका आमालाई केपी शर्मा ओलीलाई कसैले भ्रष्टाचारी वा हत्यारा भनेको पटक्कै मन पर्दैन । उहाँको असन्तुष्टिको मूल कारण आलोचना हुनु मात्र होइन। उहाँको प्रश्न छ आरोप लगाउनु गलत होइन, तर आरोपको आधार के हो? प्रमाण कहाँ छ? अनुसन्धानले के देखाएको छ? न्यायिक प्रक्रियाले के निष्कर्ष निकालेको छ? उहाँको बुझाइमा, जसले भ्रष्टाचारविरुद्ध कदम चालेको छ, उसैलाई भ्रष्टाचारी भनिँदै छ। जस्ले नागरिकको जीवन सहज बनाउन र जनताको हितमा काम गर्न संघर्ष गरेको छ उसैलाइ विना आधार हत्याराको संज्ञा दिइँदै छ। आरोप लगाउनेले प्रमाणसहित आफ्नो कुरा राख्नुपर्छ र आरोपित व्यक्तिलाई पनि आफ्नो धारणा स्पष्ट पार्ने अवसर दिनुपर्छ। जुन हाम्रो राजनीतिक संस्कार र सामाजिक चेतनासँग जोडिएको बिषय हो।

‘प्रधानमन्त्रीकी श्रीमती भएँ, तर आफ्नो जीवनशैली बदलिनँ’

संवादका क्रममा राधिका आमाले आफ्नो व्यक्तिगत जीवनबारे पनि खुलेर कुरा गर्नुभयो। उहाँका अनुसार, उहाँ राष्ट्र बैंकमा प्रथम श्रेणीको अधिकृतका रूपमा काम गरेर अवकाश प्राप्त गर्नुभएको व्यक्ति हुनुहुन्छ। उहाँले प्रधानमन्त्रीकी श्रीमती भएको नाताले आफूले कुनै विशेष सेवासुविधा नलिएको र पदको आडमा व्यक्तिगत लाभ खोज्ने बाटोमा कहिल्यै नलागेको बताउनुभयो। उहाँका शब्दमा, बालकोटमा बस्दा होस् वा बालुवाटारमा, आफूलाई सत्ताको उन्मादले कहिल्यै छोएन। घरको काम आफैँ गर्ने, खाना पकाउने र भाँडा माझ्नेसम्मका काममा आफूलाई कहिल्यै सानो महसुस नगरेको उहाँले सुनाउनुभयो। उहाँले आफ्नो कुरा राख्दै भन्नुभएको आशय थियो, प्रधानमन्त्रीको श्रीमती हुँदैमा आफूले अरूको भरमा जीवन चलाउनुपर्छ भन्ने सोच कहिल्यै राखिनँ। पदमा रहँदा पनि घरको काम आफैँ गर्ने बानी परिवर्तन गरिनँ। आफूलाई लागेको अर्को पीडा पनि सुनाउनुभयो। अरूले उच्च पद पाउँदा तिनका परिवारका सदस्य राज्यशक्ति र सुविधाको प्रयोगमा सक्रिय भएको चर्चा सुनिने गरे पनि आफूले त्यस्तो बाटो नरोजेको अनुभव छ।

राधिका आमासँग रहेको घर, केही गहना र विदेशी पाहुनाहरूबाट प्राप्त मूल्यवान् उपहारसमेत आगजनीमा जलेर नष्ट भएका छन्। उहाँले आफूहरूसँग अब लगाउने एक जोर लुगाबाहेक केही नरहेको पीडा व्यक्त गर्नुभयो। उहाँले पुरानो गाडीको प्रसङ्ग पनि सुनाउनुभयो। प्रधानमन्त्रीसँगै जाँदा प्रधानमन्त्रीको गाडीमा जाने अवस्था भए पनि एक्लै कतै जानुपर्दा आफ्नै गाडीको अभाव महसुस गर्नुपर्ने उहाँको भनाइ थियो। कहिलेकाहीँ कसको गाडी खाली होला भनेर सोच्नुपर्ने अवस्थासमेत आउने गरेको उहाँले बताउनुभयो। यी कुरा सुन्दा मनमा एउटा प्रश्न उठ्छ, सार्वजनिक जीवनमा रहेका व्यक्तिहरू र तिनका परिवारले आलोचना सहनुपर्ने स्वाभाविक हो, तर राजनीतिक असहमति हिंसा र विनाशसम्म पुग्नु कति उचित हो? लोकतन्त्रमा विरोध गर्ने अधिकार छ। सरकारको आलोचना गर्ने अधिकार छ। नेताको राजीनामा माग्ने अधिकार छ। सार्वजनिक सम्पत्ति र सार्वजनिक पदमा बसेका व्यक्तिको जवाफदेहिता माग्ने अधिकार पनि छ। तर घर जलाउने, निजी सम्पत्ति नष्ट गर्ने वा परिवारका सदस्यलाई सामूहिक घृणाको निशाना बनाउने कामलाई राजनीतिक जवाफदेहिताको विकल्प मान्न सकिँदैन। आलोचना र प्रतिशोध फरक कुरा हुन्। प्रश्न सोध्नु र आक्रमण गर्नु फरक कुरा हुन्। लोकतन्त्रले पहिलो कुरालाई बलियो बनाउँछ; दोस्रो कुराले समाजलाई कमजोर बनाउँछ। राधिका आमाको पीडालाई बुझ्ने हो भने यही भिन्नतालाई बुझ्न आवश्यक छ।

‘प्रमाणसहित आउनुस्, म आफैँ साथ छोडिदिन्छु’

राधिका आमाले व्यक्त गर्नुभएको सबैभन्दा अर्थपूर्ण कुरा यही थियो। उहाँको भनाइको आशय थियो केपी शर्मा ओलीले भ्रष्टाचार गरेको प्रमाण कसैसँग छ भने सार्वजनिक रूपमा प्रस्तुत गरियोस्। तथ्यका आधारमा खुला बहस होस्। कसैले मलाई कन्भिन्स गरोस् ओलीले यो यो भ्रष्टाचार गरे भनोस, प्रमाण देखावस, प्रमाणित गरोस मैले नै केपी ओलीले भ्रष्टाचार गरेको महसूस गरे, म कन्विन्स भए भने केपी ओली मेरो श्रीमान नै भए पनि मैले नै साथ छोडिदिन्छु। नत्र भने यसरी लहडको भरमा अनावश्यक एउटा देशका लागि जीवन समर्पण गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउन भनि हिडेको मान्छेलाई किन यसरी लखेटिरहेको छन। आधार कारण प्रमाण केहि पनि चाहिँदैन जस्ले जे भने पनि हुन्छ ? जो जस्ले सत्य देखे बुझेकाछन उनिहरुले त बोलोस्।  उहाँको यो भनाइ भावनात्मक मात्र होइन, सार्वजनिक जीवनमा जवाफदेहिताको प्रश्न उठाउने अभिव्यक्ति पनि हो। प्रमाणबिना कसैलाई दोषी ठहर गर्न खोज्नु पनि न्यायसंगत हुँदैन। राधिका आमाले टुँडिखेलमा खुला कार्यक्रम गरेर नेपाली जनतासँग बहस गर्न मन लागेको बताउनुभयो। जोसुकै आउन्, तथ्य र प्रमाणका आधारमा कुरा राखून् भन्ने उहाँको चाहना रहेछ। आरोप लागेपछि प्रश्न सोधिनुपर्छ। प्रश्न उठेपछि जवाफ दिनुपर्छ। प्रमाण भेटिए अनुसन्धान हुनुपर्छ। दोष प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्छ। यही प्रक्रियाले निर्दोषको सम्मान र दोषीको जवाफदेहिता दुवै सुनिश्चित गर्छ। 

समाजको अर्थतन्त्रभन्दा खतरनाक सामाजिक सोचको क्षय ?

राधिका आमाको अर्को चिन्ता अझ गम्भीर छ। उहाँको भनाइमा, देशको अर्थतन्त्र बिग्रियो भने केही समय लाग्ला, तर मेहनत, योजना र सही नीतिबाट त्यसलाई सुधार गर्न सकिन्छ। तर समाजको सोच नै गलत दिशातर्फ गयो भने त्यसलाई सही बाटोमा फर्काउन धेरै लामो समय लाग्न सक्छ। यो विचारले हामी सबैलाई एकपटक रोकेर सोच्न बाध्य बनाउँछ। आज हामी सामाजिक सञ्जालमा कुनै खबर देख्छौँ। पूरा समाचार पढ्दैनौँ, स्रोत जाँच्दैनौँ, तथ्य बुझ्दैनौँ। तर केही सेकेन्डमै आफ्नो धारणा बनाउँछौँ। त्यसपछि त्यही धारणालाई सत्य मानेर अरूलाई पनि सुनाउन थाल्छौँ। सैले आरोप लगायो भने हामी प्रमाण खोज्नुको सट्टा आरोपलाई नै दोहोर्‍याउँछौँ। कसैले भावनात्मक भाषण गर्‍यो भने त्यसको तथ्यगत आधार जाँच्नुभन्दा त्यसले उत्पन्न गरेको उत्तेजनामा बग्छौँ। यसरी हेर्दा समस्या कुनै एक नेता वा राजनीतिक दलमा मात्र सीमित छैन। समस्या हाम्रो सूचना ग्रहण गर्ने तरिका, हाम्रो राजनीतिक संस्कार र फरक मतलाई हेर्ने दृष्टिकोणमा पनि छ। तर यसको अर्थ आलोचना बन्द गर्नुपर्छ भन्ने होइन। बरु आलोचना अझ तथ्यपरक, जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्छ भन्ने हो। भ्रष्टाचार भएको छ भने त्यसको अनुसन्धान हुनुपर्छ। मानव अधिकार उल्लङ्घन भएको छ भने पीडितले न्याय पाउनुपर्छ। राज्यशक्तिको दुरुपयोग भएको छ भने त्यसको हिसाब मागिनुपर्छ। तर यी सबै काम प्रमाण, कानुन र निष्पक्ष प्रक्रियाका आधारमा हुनुपर्छ। नशा, नारा, हल्ला र भीडको आक्रोशले न्यायको स्थान लिन सक्दैन।

मिडियाले सत्यको पक्षमा उभिने कि लोकप्रियताको पछि लाग्ने ?

राधिका आमाले सञ्चारमाध्यमप्रति पनि चिन्ता व्यक्त गर्नुभयो। उहाँको प्रश्न थियो मिडियाका साथीहरू किन सत्य बोल्न डराउँछन्? किन सत्य लुकाएर भ्युज र डलर कमाउने होडमा व्यावसायिक धर्मबाट विमुख भइरहेका छन् ? यो प्रश्नलाई सञ्चारमाध्यमले पनि गम्भीरतापूर्वक लिन आवश्यक छ। पत्रकारिताको काम कसैलाई महान् बनाउनु होइन, कसैलाई खलनायक बनाउनु पनि होइन। पत्रकारिताको काम तथ्य पत्ता लगाउनु, प्रश्न गर्नु, प्रमाण खोज्नु र सार्वजनिक महत्त्वका विषयमा नागरिकलाई सही सूचना दिनु हो। नेता गलत छन् भने मिडियाले प्रश्न गर्नुपर्छ। शक्तिमा रहेकाहरूले गल्ती गरेका छन् भने त्यसको खोजी गर्नुपर्छ। तर कसैको लोकप्रियता घटाउने वा बढाउने उद्देश्यले अपुष्ट आरोपलाई तथ्यका रूपमा प्रस्तुत गर्नु पत्रकारिताको धर्म हुन सक्दैन। सत्यको खोजी सत्तामा रहेका व्यक्तिका लागि मात्र होइन, सत्ताविरुद्ध आवाज उठाउनेहरूका लागि पनि समान रूपमा लागू हुनुपर्छ। किनकि सत्य कुनै दलको निजी सम्पत्ति होइन। न्याय कुनै नेताको पक्षमा मात्र उभिने विषय होइन। प्रमाण कसैको राजनीतिक विचारधाराअनुसार बदलिने वस्तु पनि होइन।

हामी कस्तो समाज बनाउन चाहन्छौँ ? राधिका आमासँगको संवादले मलाई एउटा गम्भीर प्रश्नको अगाडि उभ्यायो हामी असहमतिलाई कसरी व्यक्त गर्ने समाज बनाउँदै छौँ? हामीलाई कुनै नेता मन नपर्न सक्छ। कुनै पार्टीको नीति गलत लाग्न सक्छ। कुनै प्रधानमन्त्रीको निर्णयप्रति असन्तुष्टि हुन सक्छ। यी सबै लोकतन्त्रका स्वाभाविक पक्ष हुन्। तर मन नपर्नु र अपराधी ठहर गर्नु एउटै कुरा होइन। राजनीतिक विरोध गर्नु र व्यक्तिको सम्पूर्ण अस्तित्वमाथि प्रहार गर्नु एउटै कुरा होइन। केपी शर्मा ओली सही छन् कि गलत, उनका निर्णयहरू कति प्रभावकारी थिए, उनीमाथि लागेका आरोपको आधार के हो यी सबै विषयमा बहस हुनुपर्छ। उनको राजनीतिक जीवनका उपलब्धि र कमजोरी दुवैको निष्पक्ष मूल्याङ्कन हुनुपर्छ। उनीमाथि लागेका कुनै पनि गम्भीर आरोपलाई प्रमाण र कानुनी प्रक्रियाका आधारमा जाँचिनुपर्छ। तर त्यो बहस व्यक्तिद्वेषमा सीमित हुनु हुँदैन।

आज हामीलाई चाहिएको समाज त्यस्तो होस, जहाँ निर्दोषलाई आरोपको भारले थिचिन नपरोस्, दोषीलाई सम्बन्ध वा शक्तिका कारण उन्मुक्ति नमिलोस्, पत्रकारिता सत्यबाट विचलित नहोस् र नागरिकले हल्लाभन्दा प्रमाणलाई विश्वास गरून्। किनकि देश बिग्रिनु भनेको केवल सडक भत्किनु, अर्थतन्त्र कमजोर हुनु वा विकास रोकिनु मात्र होइन। देशको सामाजिक विवेक कमजोर हुनु पनि देश बिग्रिनुकै एउटा गम्भीर रूप हो। हामी प्रमाणका आधारमा धारणा बनाउने नागरिक बन्ने कि हल्लाका आधारमा फैसला सुनाउने भीड? हामी सत्यको खोजी गर्ने समाज बन्ने कि आफूलाई मन परेको कथालाई नै सत्य मानेर बस्ने समाज? यो प्रश्नको उत्तर आज हामीले दिन सकेनौँ भने भोलि आरोपको निशाना जोसुकै बन्न सक्छ। आज हामीले प्रमाणबिनाको आरोपलाई सामान्य ठान्यौँ भने भोलि आफ्नै निर्दोषिताको प्रमाण खोज्दै हिँड्नुपर्ने दिन पनि आउन सक्छ। त्यसैले असहमति राखौँ, प्रश्न गरौँ, आलोचना गरौँ तर प्रमाणका आधारमा। न्याय मागौँ तर निष्पक्ष रूपमा। राजनीतिक नेतृत्वको मूल्याङ्कन गरौँ तर तथ्यका आधारमा। किनकि अन्ततः सत्यलाई न त अन्धसमर्थन चाहिन्छ, न अन्धविरोध। सत्यलाई चाहिन्छ निष्पक्ष दृष्टि र प्रमाण।