अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चित्रबहादुरको जिल्लामा गठबन्धनमाथि यसरी हावी हुँदैछ एमाले

चित्रबहादुरको जिल्लामा गठबन्धनमाथि यसरी हावी हुँदैछ एमाले


बागलुङ– चित्रबहादुर केसीको जिल्ला भनेर चिनिने बागलुङमा गठबन्धन र एमालेका बीच यसपालीको निर्वाचन रोचक हुने देखिएको छ । गत निर्वाचनमा एमालेको साथले जीतेका चित्रबहादुरका दुई कार्यकर्तालाई यसपाली काँग्रेस र माओवादीले कति सिट दिन्छन् र कति भोट देलान् भन्ने टुंगो लागेको छैन । बरु टिकटका लागि आपसमै आरोप प्रत्यारोपमा काँग्रेस,जनमोर्चा र माओवादीका कार्यकर्ताहरु उत्रिएका छन् ।

एमालेको भोट पाएर गत निर्वाचनमा क्षेत्र नं २ बाट जितेका माओवादीका देवेन्द्र पौडेल अहिले शिक्षा मन्त्री हुनुुहुन्छ । पहिलो पटक मन्त्री भएका पौडेलले विगतमा आफूले बनाएको छबि मन्त्री भएको १५ महिना हुँदा धुलिसात बनाएको त्यस क्षेत्रका कार्यकर्ताहरुको गुनासो छ । स्थानीय तहको निर्वाचनमा जिल्लाको ठूलो पार्टी एमाले हो । उसले ४२ हजार मत ल्याएको थियो । मुस्किलले १३ हजार भोट ल्याएको माओवादीले अहिले बागुलङमा संघीय सिट दाबी गर्नु मूर्खता मात्र भएको काँग्रेस राजमोका कार्यकर्ताहरु बताउछन् । स्थानीय चुनावमा काँग्रेसले करिब ३७ र राजमोले करिब १२ हजार मत पाएका थिए ।

‘बागलुङमा चित्रबहादुर केसीलाई हामी सम्मान गर्छौं । तर त्यो सम्मान अब मत बटुल्नका लागि काम लाग्दैन’ नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी भन्नुहुन्छ ‘ परमादेशी गठबन्धनमा सामेल भएपछि उहाँको निष्ठाको राजनीति सकियो ।’ गठबन्धनका पनि कुनै शर्त मान्ने कुनैमा मौन बस्ने र कुनैमा विरोधमा उत्रने नीतिका कारण गठबन्धनले पनि चित्रहादुरलाई जिल्लामा भरपर्दो सहयात्रीको रुपमा मानेको छैन ।

गठबन्धनले चित्रबहादुर र देवेन्द्रलाई देखाएर भोट बटुल्ने रणनीति बनाए पनि कसको भागमा कुन क्षेत्र पर्दछ भन्ने टुंगो अहिलेसम्म छैन । त्यसले गर्दा गठबन्धनका नेतना कार्यकर्ता दुईवटा संघर्षमा छन् अहिले बागलुङमा । पहिलो आफ्नो पार्टीको पक्षमा निर्वाचन क्षेत्र कायम राख्ने,दोस्रो आफूले टिकट लिने । ‘गठबन्धनको किचलोका बीच एमालेले यसपाली बागलुङमा चमत्कारिक नतिजा ल्याउन सक्छ’ बागलुङ बजारका एक स्थानीय व्यापारी भन्छन् ‘एमालेमा पनि आकांक्षी त धेरै छन् तर कसले टिकट ल्याउछन् भनेर प्रतिष्पर्धीले पनि मनस्थिती बनाइसकेका छन् । त्यसले गर्दा गठबन्धन एक्तारि हुँदा एमाले एक ढिक्का भएर चुनावमा लाग्छ । ’

अघिल्लो निर्वाचनमा एमाले माओवादी गठबन्धनमा मिसिएर राजमाले प्रदेश १ को क निर्वाचन क्षेत्रमा कृष्ण थापालाई जिताएको थियो । त्यस्तै २(ख)मा राजमो कै टेकबहादुर घर्तीले जितेकोमा उहाँको मृत्यू भएपछि भएको उपनिर्वाचनमा खिम बहादुर शाहीले जित्नु भयो । एमालेको अर्को प्रतिष्पर्धी बागलुङमा काँग्रेस हो । गत निर्वाचनमा दुईटै संघीय र चारवटै प्रदेश गुमाएको काँग्रेसलाई पुरानो अवस्थामा फर्कन त्यती सजिलो नहुने काँग्रसीजनहरु नै बताउछन् । ‘वाम गटबन्धन जस्तो माओवादी र जनमोर्चाले इमान्दारीपूर्वक हामीलाई भोट हाल्ने कुरामा शंका छ’ काँग्रेसका एक जिल्ला नेता भन्छन् ‘माओवादीको एक लोटा पानी भएको गाग्रोमा काँग्रेसले गाग्री खन्याएर भरिदिन गाह्रो छ । यस्तो बेला एमालेले नै फाइदा लिन्छ । ’

एमाले गण्डकी प्रदेश कमिटी सदस्य रामबहादुर जिसीका अनुसार बागलुङको संसदीय इतिहासमा एमाले र जनमोर्चाले काँग्रेसको गढ भत्काउदै अघि बढेका छन् । २०४८ सालको निर्वाचनमा काँग्रेसले तीनवटै निर्वाचन क्षेत्र जित्यो । त्यसको ३ वर्ष पछि भएको मध्यावधी निर्वाचनमा काँग्रेसलाई एक सिटमा खुम्च्याएर क्षेत्र नं १ मा एमालेका गोविन्द अधिकारीको इन्ट्री भयो भने ३ मा जनमोर्चाका परी थापाको इन्ट्री भयो ।

पार्टी विभाजनको पिडामा निर्वाचनमा होमिएको एमालेलाई २०५६ सालको निर्वाचन सुखद रहेन । उक्त निर्वाचन मार्फत राजमोका अध्यक्ष चित्रहादुर केसी संसदस्य राजनीतिमा प्रवेश गर्नुभयो । त्यसबेला दुईवटा क्षेत्र जनमोर्चा र एउटा काँग्रेसले जित्यो । २०६४ मा देशैभरी माओवादीको माहोल भएका बेला पनि बागलुङको क्षेत्र नं १ मा एमालेका रामजी शर्माले चुनाव जित्नुभयो । तर २०७० को चुनाव एमालेका लागी सुखद रहेन । तीनवटै निर्वाचन क्षेत्र काँग्रेसले जित्यो । २०७४ को निर्वाचनमा काँग्रेस फेरी शुन्यमा झर्यो ।

अस्ताउदा जुनलाई उदाउदो सूर्यमा बिलय गराउने एमाले रणनीति
यूवा नेता हिराबहादुर केसीले बागलुङ एमालेको नेतृत्व गर्नुभएको छ । आफू जस्तै यूवाहरु एमालेमा उम्मेद्वारका आकांक्षी भएको बताउनुहुन्छ । धेरै जनाको नाम सिफारिस भएर गए पनि पार्टी केन्द्रले जसलाई उम्मेद्वार बनाएर पठाउछ उसलाई जिताउन एक ढिक्का भएर लाग्ने बागलुङ एमालेका उम्मेद्वारहरुको प्रतिवद्धता छ । ‘राजमोले चित्रबहादुर र माओवादीले देवेन्द्र पौडेल देखाएर चुनाव जित्नुहुन्छ’, केसी भन्नुहुन्छ, ‘उहाँहरु अस्ताउदो जुन हो,हामी उदाँउदो घाम हौं । सूर्योदय भएपछि चन्द्रमाको हालत के हुन्छ भनिरहनु पर्छ र ?’

नेकपा एमालेले बागलुङमा विभिन्न पार्टीबाट हजारौ नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराएको छ । एमाले बागलुङका अनुसार पछिल्लो समयमा एमालेले अन्य पार्टीका दुई हजार बढी नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराएको हो । यसरी प्रवेह गर्नेहरुमा काँग्रेसका पूर्व सचिव नवराज पौडेल,महासमिती सदस्यहरु उषा पौडेल र मञ्जु शर्मा लगायत छन् । यसैगरी माओवादी पूर्व केन्द्रीय सदस्य बाबुराम नेपाली,गल्कोट अध्यक्ष तिलक उप्रेतीहरु पनि एमालेमा प्रवेश गरेका छन् । त्यती मात्र होइन नेकपाको निरन्तरताको रुपमा रहेका एमालेमा माओवादीका सयौं कार्यकर्ता त माओवादीतिर फर्किएनन् ।

अध्यक्ष केसीका अनुसार नेपाली कांग्रेसबाट १२ सय बढी, नेकपा माओवादी केन्द्रबाट ७ सय बढी, राष्ट्रिय जनमोर्चाबाट झण्डै २ सय ५० गरी करिब २ हजार नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । उहाँका अनुसार कांग्रेसबाट पूर्व जिल्ला कार्यसमिति सचिवसहित १२ सय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । यस्तै माओवादी केन्द्रबाट बागलुङ नगर कमिटी अध्यक्ष र गलकोट नगर कमिटी अध्यक्षसहित १ हजार भन्द्या बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

‘वामपन्थी रुझान भएको बागलुङमा माओवादीमा वामपन्थी सोच भएका नेता कार्यकर्ता एमालेमै समाहित भए’, प्रदेश कमिटी सदस्य जिसी भन्नुहुन्छ, ‘केपी ओली सरकारले गरेका र गर्ने तयारीमा रहेका कामहरु,प्रदेश सरकारले गरेका र गर्ने तयारी गरेका कामहरुको हामी व्यापक प्रचार गर्छौं । गठबन्धनले गरेका देशहित विपरितका काम पनि जनता समक्ष पुर्याएर एमालेप्रतिको झुकाव बलियो बनाउछौं ।’

उहाँले एमाले बागलुङमा कुनै समस्या नभएको पनि बताउनु भयो । उहाँले मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीबाट उम्मेदवार बढी सिफारिस भएपनि कुनै समस्या नरहेका बताउनुभयो । निर्वाचनका लागि बढी उम्मेदवार सिफारिस भएपनि पार्टीभित्र कुनै समस्या, विवाद सिर्जना हुँदैन । पार्टीभित्र हाम्रो सल्लाह छ, सबै कुरा मिलेको छ । कुनै पनि कुरामा विवाद छैन, सबै कुरा व्यवस्थित छ । केसीले भन्नुभयो, ‘अहिले पार्टीका सम्पूर्ण संगठन, जनसंगठन, शुभेच्छुक संगठनको भेला, बैठक, भेटघाट भइरहेको छ । चुनावको तयारी तीव्र रूपमा अगाडि बढेको छ । ’

उहाँले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले गठबन्धनभन्दा २ हजार मतले अगाडि रहेकाले बागलुङबाट प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले नै जित्ने दाबी गर्नुभयो । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङमा एमालेले ४१ हजार बढी मत ल्याउँदा गठबन्धनमा रहेको कांग्रेसले ३९ हजार मत प्राप्त गरेको थियो ।