अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो


काठमाडौं – नेपालमा डेंगु संक्रमणबाट मुत्यु हुनेको संख्या ३२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको हो।

यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ जनाको मृत्यु भएको थियो।

इडिसिडीका अनुसार संक्रमितको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ। हालसम्म संक्रमितको संख्या २५ हजार ५४३ जना पुगेको छ।

बागमती प्रदेशमा मात्रै १९ हजार ९१० जना डेंगु संक्रमित भेटिएका छन्। यस्तै लुम्बिनी प्रदेशमा २ हजार ८८७ जना, गण्डकी प्रदेशमा ५५६ जना, मधेश प्रदेशमा ३८० जना संक्रमित भेटिएका छन् भने कर्णाली प्रदेशमा २३१ र सुदूरपश्चिम प्रदेशमा ८०४ जना संक्रमित भेटिएको इडिसिडीले जनाएको छ।

यस्तै काठमाडौं उपत्यकामा पनि डेंगु संक्रमण तिब्र फैलिरहेको छ। सुरुवाती समयमा ललितपुरमा संक्रमण धेरै भएपनि पछिल्लो दिनहरुमा ललितपुरमा भन्दा काठमाडौंमा डेंगु संक्रमित धेरै रहेको इडिसिडीको विवरणले देखाएको छ।

विवरण अनुसार हाल काठमाडौंमा ८ हजार ८९६ जना संक्रमित छन् भने ललितपुरमा ६ हजार ३५ जना संक्रमित रहेका छन्। भक्तपुरमा पनि डेंगु संक्रमण बढ्दै गएको छ। हाल भक्तपुरमा १ हजार ५८ जना संक्रमित रहेका छन्।

यस्तै मकवानपुरमा २ हजार २७५ जना,  दाङमा १२७८ जना, रुपन्देहीमा ७२५ जना, चितवनमा ६०१ धादिङमा ४ सय ४९ गुल्मीमा २९९ र कैलालीमा २९८ जना डेंगु संक्रमित रहेका छन।