काठमाडौं – सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले काठमाडौंका प्रदेशसभाका केही निर्वाचन क्षेत्रमा लफडा भएका छन् । गठबन्धनमा भएको सहमति विपरीत केही क्षेत्रमा दुबै दलले उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले आफूहरुले पाउने सहमति भएको केही क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा हुन लागेको बताउनुभयो । उहाँका अनुसार काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १, ३, ४, ५, ६ र १०, माओवादी केन्द्रले २, ७ र ९ तथा नेकपा एकीकृत समाजवादीले काठमाडौं–८ लिने सहमति भएको थियो ।
प्रतिनिधिसभाका अधिकांश क्षेत्रमा गठबन्धन कायम छ । तर प्रदेशसभामा सत्ता गठबन्धनकै एकभन्दा बढी दलको उम्मेदवारी परेपछि गठबन्धन तोडिएको छ ।
सत्ता गठबन्धनमा प्रदेशसभातर्फ काठमाडौं–३ (ख), काठमाडौं–६ (ख) र काठमाडौं–१० (क) आफूहरुले लिने सहमति भएको माओवादीको भनाइ छ । ‘हामीले लिने भनिएका क्षेत्रमा समेत कांग्रेसले उम्मेदवारी दिएपछि प्रदेशसभामा गठबन्धन रहेन’, शर्माले भन्नुभयो, ‘कांग्रेस सहमतिमा नभएपछि हामीले सबै ठाउँमा उम्मेदवारी दियौं ।’
काठमाडौं– ३ (ख) मा नेपाली कांग्रेसका बिमल ठकुरीले उम्मेदवारी दिएका छन् । नेकपा माओवादीका महेश्वर फुँयाले पनि त्यहाँ उम्मेदवारी दिएका छन् । त्यस्तै काठमाडौं–६ (ख) मा कांग्रेसका विष्णुभक्त तिमिल्सेनाले उम्मेदवारी दिएका छन् भने माओवादी केन्द्रका प्रकाश फुयाँलको पनि उम्मेदवारी परेको छ ।
त्यसैगरी माओवादीले लिने सहमति भएको काठमाडौं–१०(क) नेपाली कांग्रेसका पुकार मर्हजनले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका उम्मेदवार भने दिलिप मर्हजन छन् ।
काठमाडौं–१० मा कांग्रेसका राजन केसी सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार भए पनि माओवादी केन्द्रकी अञ्जना विशंखेले उम्मेदवारी दिनुभएको छ ।







प्रतिक्रिया