काठमाडौं-सरकारले प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागेको भन्ने समाचार तथा हल्ला भ्रामक र निराधार रहेको स्पष्ट पारेको छ।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरी महानिरीक्षकको राजीनामा मागिएको वा उनलाई कारबाही गर्न लागिएको भन्ने विषयमा कुनै सत्यता नरहेको बताएका हुन्।
सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले प्रहरी संगठनभित्रका आन्तरिक तथा संवेदनशील सूचना चुहावट भएको विषयलाई लिएर बाहिर गलत सूचना फैलिएको बताए।
प्रहरीले सूचना चुहावटको विषयमा आफ्नै आन्तरिक संयन्त्रमार्फत सामान्य जाँचबुझ र सोधपुछ मात्रै गरेको उनको भनाइ छ।
‘प्रधानमन्त्रीज्यूले आईजीपीको राजीनामा माग्नुभयो वा कारबाही गर्न लाग्नुभयो भन्ने कुरा हुँदै नभएको र भ्रामक सूचना हो,’ उनले भने, ‘यो सूचना कहाँबाट कसरी चुहावट भयो भनेर प्रहरीले गरेको सामान्य आन्तरिक सोधपुछ मात्रै हो।’
प्रवक्ता पोखरेलले मिडियाकर्मी वा कुनै पत्रकारलाई पक्राउ गर्न सरकार वा प्रधानमन्त्रीका तर्फबाट कुनै निर्देशन नदिइएको पनि स्पष्ट पारे।
प्रहरीले सूचना चुहावटको विषयमा सोधपुछका क्रममा कसैलाई नियन्त्रणमा लिएको भए तत्काल रिहा गर्न प्रधानमन्त्रीबाटै निर्देशन भएको उनले बताए।
‘कुनै किसिमको हिरासतमा राख्नेभन्दा पनि सोधपुछ गर्ने काम मात्रै भएको हो। नियन्त्रणमा रहेको भए तुरुन्त रिहा गर्नु भन्ने कुरा प्रधानमन्त्रीज्यूबाटै भएको हो,’ उनले भने।
सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्ने आरोपको खण्डन गर्दै प्रवक्ता पोखरेलले संविधानले सञ्चारमाध्यमलाई प्रदान गरेको अधिकारप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।



प्रतिक्रिया