अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होमबहादुर थापा : लो प्रोफाइलमा बस्ने,जनताको सेवामा खट्ने

होमबहादुर थापा : लो प्रोफाइलमा बस्ने,जनताको सेवामा खट्ने


दमक- होमबहादुर थापा झापाली राजनीतिक वृतमा संघर्षबाट स्थापित नाम हो । ४ दशक भन्दा लामो समय वामपन्थी राजनीतिमा सकृय रहँदा विभिन्न तहका जिम्मेवारी पूरा गरेका थापालाई आसन्न निर्वाचनमा एमालेले झापा क्षेत्र नं. ५ ख बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनाएको छ । चर्चा र प्रचारवाजी भन्दा ‘लो प्रोफाइल’मा रहेर संगठन निर्माण, परिचालन तथा विकास निर्माणका कार्यमा सकृय थापा एमाले प्रदेश कमिटीका सदस्य हुनुहुन्छ ।


भुमिगत काल देखि सक्रिय

वैचारीक रुपमा दृढ र कार्यगत रुपमा लचक भुमिका निर्वाह गर्ने थापा पार्टी भित्र समन्वयकारी नेताका रुपमा पनि चिनिुनुहुन्छ । पञ्चायती बर्वरताको समय देखिनै बामपन्थी राजनीतिमा होमिनुभएका थापा तत्कालिन ईकाईहरु एजी, पीएजी जस्ता कमिटीहरु हुँदै ईलाका सचिव, जिल्ला कमिटी हुँदै हाल प्रदेश १ कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । थापा पार्टीको झापा क्षेत्र ५ को ईन्चार्ज हुनुहुन्छ ।

जनपक्षीय जनप्रतिनिधी देखि गाविस अध्यक्ष सम्म

तत्कालिन भुमिगत मालेले पञ्चायती चुनावलाई समेत उपयोग गर्ने रणनीति बनाएका बेला भर्भराउँदो युवा उमेरका थापा २०४३ सालमा झापाको तत्कालिन कोहबरा गाउँ पञ्चायतको उपप्रधानपञ्चमा निर्वाचित भएका थिए । पञ्चायती प्रतिवन्धको समयमा समेत जनता बीचमा प्रगतीशिल विचार र वामपन्थी दर्शन बोकेर जनताका घर घरमा पुगेका थापा २०५४ सालको स्थानीय चुनावमा कोहबरा गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो । जनप्रतिनिधीको भुमिका निर्वाह गरि रहँदा जनजनमा एमाले प्रतिको आस्था र आकर्षण वृद्धी गराउन होम थापा पार्टीका एक सिपाहींका रुपमा पनि क्रियाशिल हुनुभयो ।
पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनको अग्रमोर्चामा खटिँदा उनी पटक पटक पक्राउ समेत परे भने तत्कालिन व्यवस्थाका विरुद्ध नागरिकलाई गोलवद्ध गराएको आरोपमा केही समय जेल जीवन समेत भोग्नुभयो ।

विकास निर्माणका अध्यक्षसँग सँगसँगै

लामो समय स्थानीय स्तरमा र जनताकै विचमा काम गरेका थापाले झापाको विकासका लागि महत्वपूर्ण योगदान गर्नुभएको छ । झापाको क्षेत्र नं. ५ मा सवै भन्दा बढी दुःख दिने रतुवा तथा मावा खोलाको दिगो तटवन्धनका लागि करोडौ रुपैयाँ बजेट बिनियोजन गराउन थापाको महत्वपूर्ण भुमिका रहेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सांसद प्रतिनिधीका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आउनुभएको छ । उहाँकै जोडबल र सक्रियतामा दमकका अधिकांश भित्रि सडकहरु समेत कालोपत्रे गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय महत्वको नेपाल चीन मैत्री औद्योगीक पार्कको निर्माण प्रकृया अघि बढाउने, मुआव्जा वितरणमा स्थानीयलाई बढी भन्दा बढी लाभ दिलाउने जस्ता भुमिकामा पनि उहाँले समन्वयकारी भुमिका निर्वाह गर्नुभएको छ । पार्टी अध्यक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुका व्यस्त भई रहँदा उहाँकै सचिवालयमा रहेर समेत काम गर्नुभएका थापाले स्थानीय विकासका योजनाहरुमा बजेट छुट्याउन र कार्यान्वयन गराउन पहल कदमी लिँदै आउनु भएको छ ।

शैक्षिक सुधारका अगुवा

जनप्रतिनिधीको औपचारीक भुमिकाबाट बाहिरिए पनि थापा जनताका काम गर्नबाट कहिल्यै पनि पछि हट्नुभएन । नदी कटान नियन्त्रण, सडक तथा पूल निर्माण, विद्युतीकरण, खानेपानी विस्तारका साथै शैक्षिक क्षेत्रको सुधारका लागि पनि थापाको अग्रणी भुमिका रहँदै आएको छ ।
पुर्वकै गौरवको रुपमा रहेको दमक बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थाहरुमा पूर्वाधार निर्माणका लागि करोडौ रुपैयाँ बजेट बिनियोजन गराउन समेत उनले राज्यका विभिन्न निकायहरुमा समन्वय गरेका छन् भने दमकको हिमालय माविको अध्यक्ष हुँदा र त्यस पछि समेत सामुदायीक विद्यालयहरुको पूर्वाधार एवम् गुणस्तर सुधारका लागि अग्रभागमा रहेका काम गर्दै हुनुहुन्छ ।

पारिवारीक पृष्ठभुमी

सर्वहारा किसान परिवारको पृष्ठभुमी भएका उनमा किशोरावस्था देखि नै समाजको प्रगतीशिल रुपान्तरणको चेतना भरिएको थियो । २०२० साल माघ २९ गते हरिशचन्द्र थापा र लोकमाया थापाका सन्तानका रुपमा पाँचथरको स्याब्रुम्बामा जन्मिएका थापाको राजनीतिक कर्मथलो भने झापा बन्यो ।
बामपन्थी राजनीतिमा बिद्रोह हुँदै विकास सम्म महत्वपूर्ण योगदान पुर्याएको झापाको कोहबरा हुँदै झापाकै दमक ६ मा स्थाई बसोबास गर्दै आएका उनको सिंगो परिवार नै समाजको प्रगतीशिल विकास र रुपान्तरणका सक्रिय रहेको छ ।
श्रीमती मन्जू थापा, छोराहरु सञ्जय र अजय, बुहारी दिपीका भण्डारी थापा तथा एक नातिनीका अभिभावकका रुपमा समेत पारिवारिक जिम्मेवारी निर्वाह गर्दै आएका थापा झापा क्षेत्र नं. ५(२) मा थालिएका विकासका योजना पूरा गर्ने र शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरणमा भुमिका निर्वाह गर्ने लक्ष्य सहित चुनावी मैदानमा होमिएका छन् ।
४ दशक लामो निस्कलङ्क, बिवादरहित तथा समन्वयकारी भुमिका नै उनको जितको सवै भन्दा ठुलो आधारको रुपमा रहेको छ ।