दोलखा – एमाले बाग्मती प्रदेश कमिटी सदस्य तथा कालिञ्चोक गाउँपालिकाका पूर्व अध्यक्ष विनकुमार थामीले निर्वाचनको संघारमा जातीय सद्भाव भड्काउने उद्देश्यले भइरहेको दुष्प्रचारप्रति खेद प्रकट गर्नुभएको छ ।
राजनीतिक चरित्र हत्या गर्नेगरी भैरहेको दुष्प्रचार प्रतिशोधपूर्र्ण, दुरासययुक्त र वदनियत गर्ने उद्देश्यले भइरहेकाले त्यस्ता दुष्प्रचारको पछि नालाग्न उहाँले विज्ञप्तिमार्फत खेद प्रकट गर्नुभएको हो । दुष्प्रचारलाई हतियार बनाई भोटको राजनीति बन्द गर्न समेत उहाँले चेतावनी दिनुभएको छ ।
विज्ञप्तिमा उहाँले भन्नुभएको छ, ‘निर्वाचनको सम्मुखमा मेरो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्नेगरी भैरहेको दुष्प्रचार प्रतिशोधपूर्ण, दुरासययुक्त र वदनियतका साथ गरिएको कुरा स्पष्ट पार्न चाहन्छु । मेरो नाम भजाएर समुदायप्रति सहानुभूति राखेजस्तो नाटक गरेर सोझासिधा जनता र समुदायलाई भ्रमित तुल्याउने र भोटको राजनीति गर्ने अनैतिक, अराजनीतिक गतिविधिको जति निन्दा गरेपनि कम हुन्छ ।’
एमालेले अंगिकार गरेको ‘जनताको वहुदलीय जनवाद’प्रति आफु प्रतिवद्ध रहेको स्पष्ट पार्दै उहाँले यही सिद्धान्त नै उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको समुचित विकास गर्ने आधार रहेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
‘म विगत लामो समयदेखि नेकपा एमालेले अगिंकार गरेको बिचार, सिद्धान्त प्रतिबद्द रहि यो पार्टीमा संगठित र क्रियाशील व्यक्ति हुँ’, उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘नेकपा एमालेले आत्मासाथ गरेको जनताको बहुदलीय जनबादको सिद्धान्तको प्रयोगबाटै आम नेपाली र उत्पीडित वर्ग, जात, क्षेत्र र लिंगका समुदाय अधिकार सम्पन्न हुनसक्छन् भन्ने मेरो दृढ विश्वास छ ।’
नाम भजाएर भोटको राजनीति गर्नुको सट्टा उत्पीडित, पिछडिएको समुदायहरुको हकहित र अधिकारको पक्षमा काम गरेर देखाउन उहाँले दुष्प्रचारमा लाग्नेहरुलाई चुनौती नै दिनुभएको छ ।
मेरो नाम भजाएर भोटको राजनीति गर्नुभन्दा उत्पीडित, पिछडिएको समुदायहरुको हकहित र अधिकारका लागि काम गरेर देखाउन सम्बन्धित पक्षलाई चुनौती दिन चाहन्छु ।
‘मेरो नाम भजाएर भोटको राजनीति गर्नुभन्दा उत्पीडित, पिछडिएको समुदायहरुको हकहित र अधिकारका लागि काम गरेर देखाउन सम्बन्धित पक्षलाई चुनौती दिन चाहन्छु । ममाथि तत्कालिन समयमा भएको दुव्र्यवहार र आक्रमणको घटनालाई भोट बटुल्ने विषय नबनाउन र त्यसको भ्रममा नपर्न सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।’ सामाजिक सञ्जालमार्फत सर्वजनिक उहाँको विज्ञप्तिमा उल्लेख छ ।
नियतबस भइरहेका दुष्प्रचारले जातीय र क्षेत्रीय सद्भाव मात्र नभई आपसी मेलमिलाप र एकतावद्ध समाजलाई समेत भत्काउने हुँदा यस्ता विषयप्रति सचेत रहन उहाँको आग्रह छ । भ्रमका पछि नलागि निर्वाचनमा एमाले उम्मेदवारलाई मतदान गर्नसमेत उहाँले आह्वान गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘आधारहिन र भ्रमपूर्ण प्रचारले द्वन्द्व र विग्रह सिर्जना गर्नसक्छ । कुनै राजनीतिक एजेण्डा नभएपछि भ्रमको साहरा लिनु लज्जाको विषय हो । यस्ताखाले भ्रमका खेती गर्ने तत्वहरूबाट आम जनता सचेत हुन र भ्रमको पछाडि नलाग्न हार्दिक अपिल गर्दछु । साथै, आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र एमालेका सम्पूर्ण उम्मेदवारहरूलाई सुर्य चिन्हमा मतदान गरी विजय गराउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।’
विगतमा समेत समाजका अवान्छित तत्वहरुबाट मुलुकको विविधतालाई हतियार बनाई जातीय, क्षेत्रीय, धार्मिक र साम्प्रादायिक द्वन्द सिर्जना गर्ने दुष्प्रयास भएको र त्यसलाई एमालेकै कार्यकुशलताका कारण विफल बनाएको उहाँले विज्ञप्तिमा भन्नुभएको छ।
‘विगतमा मुलुकको विविधतामा खेलेर जातीय, क्षेत्रीय, धार्मिक एवं साम्प्रदायिक द्वन्द्व र विभाजन ल्याउने कोसिस गरिए पनि नेपालीहरूबीचको आपसी सद्भाव, सहिष्णुता, एकता र मेलमिलापलाई कसैले कमजोर बनाउन सकेन’, उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘अझै पनि कतै विभेद, छुवाछुत र असमानताको अवशेषहरु बाँकी रहेका छन् भने त्यसको पनि अन्त्य हुनुपर्दछ ।’







प्रतिक्रिया