झापा – मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी प्रचारप्रसार शुरु भइसकेको छ। नेताहरु मतदाता सामु प्रतिवद्धता लिएर पुग्न थालेका छन् । तर झापा क्षेत्र नम्बर ५ क का प्रदेश सभा उम्मेद्वार हिक्मत कार्कीले भने जनताको गुनासो सुन्न थालेका छन् । नागरिक र उम्मेद्वारबीच प्रत्यक्ष सम्वाद हुने गरेको छ । कमलका ४ वटा गौरादहका ८ वटा र गौरीगञ्जका ३ वटा वडाका मतदातासँग दोहोरो सम्वाद गरिदैछ । उहाँको क्षेत्रमा पर्ने १५ वडामध्ये १२ वटा वडामा त्यसरी कार्यक्रम भइसकेका छन्।
एमाले स्थायी कमिटी सदस्य समेत गरेका कार्कीले नेकपा एमाले सरकारमा हुँदा गरिएका कामको प्रचार गरिरहेका छन् । उहाँले मतदातालाई विगतमा निर्वाचित गरेर पठाएपछि गरिएका कामको विवरण सुनाउने गरेका छन् । विगतमा आफू सरकारमा हुँदा क्षेत्रका समग्र विकासका गतिविधिहरुको चर्चा गरिदैछ, कार्कीले भने, मतदाताका सुझाव र गुनासालाई समेत सुनिने छ ।
प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री समेत रहेका कार्कीले मतदाताले मुख्य गरी स्वास्थ्य शिक्षा र रोजगारी सँगै पूर्वाधार विकासका मागहरु राख्ने गरेको बताउनुभयो । कतिपय कामहरु वडा मार्फत नै भइसकेका पनि छन्, कति स्थानीय तहबाट भएका छन्, उहाँले भन्नुभयो, अधुरा रहेका र बाकीँ रहेका काम प्रदेश र संघले गर्ने छन् । प्रदेश क का निर्वाचन परिचालन कमिटीका संयोजक अम्बर दास शिवाकोटीले उम्मेद्वार र मतदाता विच प्रत्यक्ष सम्वादले नेता र जनताबीचको दुरी घट्ने बताउनु भयो । विगतमा एमाले सरकार हुँदा भएका कामको हामीले मतदातालाई बुझाइ रहेका छौँ, उहाँले भन्नुभयो, ‘मतदाताका माग र गुनासालाई पनि सम्बोधन गरिने छ ।
प्रत्येक वडामा उम्मेद्वारलाई मतदाताले प्रश्न सोध्ने छन् । विगतमा प्रतिवद्धता समेत सम्झाउने छन् । नेकपा एमालेका गौरादह नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेका अनुसार मतदाता र नेताबीचको सम्बन्ध अझै प्रगाढ हुने र नेताले मतदाताका गुनासो बुझ्न सक्ने बताउनु भयो । यस खाले कार्यक्रमले मतदाताले समेत नेता प्रतिको विश्वास बढ्ने देखिन्छ, उहाँले भन्नुभयो, ‘नेताले पाँच वर्ष बीचमा गरेका कामको समेत समिक्षा गर्ने छन् र आगामी योजना समेत बनाउन सक्ने छन् ।
उम्मेद्वार र मतदाताबीच पहिलो चरणको अन्तकृया भोलि सम्पन्न हुने निर्वाचन परिचालन कमिटीका सचिव चक्र गुरुङले जानकारी दिनुभयो । एमालेका उम्मेद्वार कार्कीसँग कांग्रेसका जिवन राई प्रतिष्पर्धामा छन् ।






प्रतिक्रिया