अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एलपी साँवाले मुटुको उपचार गरिदिएर नयाँ जीवन पाएकाहरू

एलपी साँवाले मुटुको उपचार गरिदिएर नयाँ जीवन पाएकाहरू


दमक – झापाको झापा गाउँपालिका वडा–१ का स्थायी बासिन्दा रणबहादुर लिम्बू लामो समयदेखि नेपाली तथा मातृभाषाका गीत लेखन, संगीत तथा चलचित्रमा क्रियाशिल हुनुहुन्छ। तर झण्डै दुई दशकदेखि मुटु सम्बन्धि स्वास्थ्य समस्या भोग्नु भएका उहाँ अहिले स्वस्थ हुनुभएको छ । अनि त्यससँगै गीत-संगितको सम्वद्र्धनमा पनि लागिरहनु भएको छ।

नेपाली मौलिक संस्कार, संस्कृतिलाई अंगाल्ने मुटुलाई दुई दशकसम्म रोगले गाँजे पनि उहाँलाई नयाँ जीवन दिन महत्वपूर्ण सहयोग रहयो, झापा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद एलपी साँवाको ।

उहाँकै शव्दमा भन्ने हो भने– ‘म नेपाली कांग्रेसको स्थानीय नेता पनि हुँ, मलाई मेरो उपचारमा सहयोग गर्ने भनेर मेरा केही नेताहरू भाषण पनि गरे, काठमाडौं आउ सहयोग गर्छु भने। त्यही आशाले म काठमाडौं पनि पुगेँ तर त्यहाँ पुगेपछि मलाई सहयोग गर्छु भनेर बोलाउनेहरू सवै एकाएक लाखापाखा लागे ।’

साँवा सांसदको उम्मेद्वार हुँदा आफूले भोट समेत नहालेको र चिनजान समेत नभएको बताउने लिम्बू आफ्नो जीवन बचनाउन भने भावी बनेर आएको बताउनुहुन्छ । साँवाले सहयोग गर्नुहुने बताएपछि पहिलो पटक भेट्न काठमाडौं जाँदाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘मैले २२ वर्ष कांग्रेसको झोला बोके, म एउटा कलाकार पनि भएको नाताले उपचारमा सहयोग गर्छु भन्ने आश्वासन पनि दिए । तर म उहाँको विपक्षमा भोट हालेको मान्छेलाई भेटेको २२ मिनेट पनि नभई साँवाले मेरो उपचारको बन्दोबस्ती मिलाई दिनुभयो। अहिलेको जमानामा अर्कोको ज्यान बचाउन यसरी लागि पर्ने मान्छे सांसदको रुपमा पाउनु यस ठाउँका मान्छेको भाग्य पनि हो ।’

तिर्नै नसकिने गुन’

रणबहादुरलाई मात्र होइन, झापा १ कै बिनिता डाँगीको जीवनमा पनि साँवाको सहयोगले पुनर्जीवन दिएको छ । सुरुमा हातखुट्टा दुख्ने समस्यालाई बाथ ठानेर उपचार गर्दै जाँदा समस्या झनै बल्झियो । झापा र मोरङका विभिन्न अस्पतालमा उपचार गराएपछि बल्ल टुंगो लाग्यो मुटुको समस्या । बिनिताले भन्नुभयो, ‘मेरो भल्वमा समस्या रहेछ, त्यसपछि काठमाडौंमा उपचार भयो । अहिले घरको सवै काम गर्न सक्ने भएको छु ।’ बिनिताका बुवा ईन्द्रबहादुर डाँगीका अनुसार आफ्नी छोरीको सवै उपचारको व्यवस्था सांसद साँवाले मिलाउनु भयो । आफ्नो परिवारको जीवनमा साँवाको सहयोग तिरिनसक्नु ऋण जस्तो भएको उहाँको प्रतिक्रिया छ ।

कलिला बालबालिकालाई नयाँ जीवन

तत्कालिन सांसद साँवाको पहलमा मुटुरोगी कलिला बालकालिकाहरुले पनि नयाँ जीवन पाएका छन् । शिवसताक्षी–१ का रिकेश मगरलाई जन्मजात मुटु सम्बन्धि समस्या थियो । त्यसको पहिचान भए पनि परिवारको विपन्नताका कारण उपचार सम्भव भएको थिएन। तर जब यो समस्या साँवाले थाह पाउनुभयो, अनि शुरू भयो उपचारको क्रम । उनको उपचारमा सहयोग गर्नुभएका रत्नबहादर थापाका अनुसार रिकेशको उपचारको सवै व्यवस्था नेता साँवाले मिलाई दिनुभयो । साँवाको यो प्रयासले एउटा विपन्न परिवारको खुसी खोसिनबाट जोगिएको छ ।

शिवसताक्षी–९ की १३ वर्षिया अनिता तामाङको पनि काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा लगेर उपचार भयो । तीन वर्षको हुँदा रोग पहिचान भए पनि उपचार गर्ने सामथ्र्य परिवारसँग थिएन । त्यसैले रोग पाल्न बाध्य तामाङ परिवारको समस्या साँवाले थाह पाउन साथ उपचारको प्रयास शुरू गर्नुभयो । उहाँकै पहल र प्रयासमा स्वास्थ्य लाभ गरेकी अनिता अहिले सहज रुपमा लेख-पढ गर्न र फुर्सदको समयमा घरको काम सघाउन पनि सक्ने भएकी छन् ।

अल्लाहको रूपमा साँवा

झापा जिल्लाको मध्य भाग, भारतीय सिमा क्षेत्रको झापा गाउँपालिका । यहाँ मुस्लिम समुदायको बाक्लो बसोबास छ । यही गाउँपालिकाको वडा नम्बर–४ मा साजेबुल अन्सारी बस्नुहुन्छ । उहाँ स्थानीय मदरसाका शिक्षक पनि हुनुहुन्छ । उहाँले पनि १२ वर्षसम्म मुटुको रोग पाल्नु भयो । समस्या थाह भए पनि उपचार गर्ने कुनै स्रोत थिएन । त्यसैले जतिन्जेल बाँचिन्छ, बाँच्ने–उपचार गर्न नसक्ने अवस्थामा पुग्नु भएको थियो उहाँ । तर जब तत्कालीन सांसद साँवाले अन्य मुटु रोगीहरुलाई समेत सहयोग गरेको सुन्नुभयो । त्यसपछि उहाँलाई पनि साँवाको सम्पर्कमा पुगे नयाँ जीवन पाउन सकिन्छ भन्ने आशा पलायो । उहाँले भन्नुभयो, ‘यस्तो कुरा जोसुकैलाई भनेर पनि काम थिएन, सहयोग गर्ने भए पो भन्नु । तर साँवाजीले सहयोग गर्नुहुन्छ भन्ने विश्वासले कुरा राखे । सहयोग पनि गर्नुभयो । मेरो जीवनमा मैले अल्लाह भेटे जस्तो भयो मलाई ।’ उहाँलाई पनि साँवाले काठमाडौं लगेर उपचार गरी दिनुभयो। उहाँले त्यसपछि स्वस्थ हुनुभएको छ । स्वास्थ्य लाभपछि उहाँ पहिले जस्तै मदरसामा अल्लाहको पाठ पढाइ रहनुभएको छ ।

१६ जनालाई पुनजीवन

माथि उल्लेख गरिएका व्यक्तिहरू मात्रै होइन। साँवाको पहलमा १६ जना मुटुरोगीहरुले नयाँ जीवन पाइसकेका छन् । उपचार गर्न नसक्ने, विपन्न व्यक्तिहरूको उपचार र नयाँ जीवन दिने काम उहाँको प्राथमिकतामा रहँदै आएको छ । एउटा राजनीतिक व्यक्तित्व भए पनि विना राजनीतिक पूर्वाग्रह, विना विभेद उहाँले सकेको सहयोग गर्दै आउनु भएको छ । मानवीयताको विषयलाई कुनै पनि विभेदको दृष्टिबाट हेर्न नहुने उहाँको धारणा छ । यी सहयोग आफुले स्यावासी पाउन वा प्रचारका लागि नभई एउटा मानव भएको नाताले मानवीय दायित्व मात्र पूरा गरेको उहाँ बताउनुहुन्छ ।

(साँवा संघीय निर्वाचनका लागि झापा–४ बाट एमालेका तर्फबाट सांसदका उम्मेद्वार हुनुहुन्छ ।)