अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँचीबाट रायमाझी चौथोपटक निर्वाचित

अर्घाखाँचीबाट रायमाझी चौथोपटक निर्वाचित


अर्घाखाँची – एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको अर्घाखाँचीका तीनवटै सिटमा नेकपा एमाले विजयी भएको छ ।

प्रतिनिधिसभामा एमालेका सचिव टोपबहादुर रायमाझी तथा प्रदेशसभा (१) मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (२) मा रामजीप्रसाद घिमिरे विजयी हुनुभएको हो ।

निर्वाचित तीनैलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रमको आयोजना गरी विजयी घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको हो।

प्रमाणपत्र ग्रहण गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित रायमाझीले सबै पक्षसँग समन्वय र सहकार्य गरेर देशको एकमात्र लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली बनाउन लागिपर्ने बताउनुभयो ।

रायमाझी ४२ हजार ६७५ मत प्राप्त गरी विजयी हुनुभएको हो । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९४५ मत प्राप्त गर्नुभयो । रायमाझी एक हजार ७३० मतान्तरले विजयी हुनुभयो । स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले तीन हजार १९९ मत प्राप्त गर्नुभएको छ । रायमाझी विसं २०६४, २०७०, २०७४ र २०७९ गरी चारपटक विजयी भइसक्नुभएको छ। पूर्वउपप्रधानमन्त्री भइसक्नुभएका रायमाझी पटक–पटक मन्त्रीसमेत भइसक्नुभएको छ ।

प्रदेशसभा (१) मा एमालेका उम्मेदवार चेतनारायण आचार्यले २० हजार ५१८ मत ल्याउनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७७८ मत प्राप्त गर्नुभयो । प्रदेशसभा (२) मा पनि एमालेका उम्मेदवार रामजीप्रसाद घिमिरे विजयी हुनुभएको छ । घिमिरेले २२ हजार ७७६ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार ९७५ मत प्राप्त गर्नुभएको छ ।