अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीति रमाइलो गर्ने ठाउँ होइन : अध्यक्ष ओली

राजनीति रमाइलो गर्ने ठाउँ होइन : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई रमाइलोको रुपमा नलिन आग्रह गर्नुभएको छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचन परिणामलाई लक्षित गर्दै अध्यक्ष ओलीले कतिपय मानिसले राजनीतिलाई रमाइलोको रुपमा लिएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको हो ।

झापा ५ बाट अत्याधिक मतले विजयी भएपछि प्रमाणपत्र लिन पुग्नुभएका ओलीले राजनीतिमा युवाको आकर्षण नभएको भन्ने भनाइ पछिल्लो निर्वाचनको मतपरिणामले गलत साबित गरिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जानेर नजानेर वा भवितव्यले कतिपय विजयी भएका छन् । राजनीति रमाइलोको रुपमा नलिऔं, यो गम्भीर विषय हो ।’ उहाँले धेरैजसो स्थानमा निस्पक्ष र शान्तिपूर्ण ढंगमा निर्वाचन गराउन सफल निर्वाचन आयोग र सम्बन्धित सबैलाई धन्यवाद पनि दिनुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले आम मतदाताले पनि मतदान गर्दा ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसपटक मतदाताले नबुझेको हो की, हामीले बुझाउन नसकेका हौं । मतदाता सुध्रिनु पर्ने हो की जस्तो लागेको छ ।’

उहाँले निर्वाचन पाँच वर्षको लागि मात्रै नभएर यसको परिणाम लामो समयसम्म रहने बताउनुभयो । यही पाँच वर्षमा गलत काम भए पुस्ता पुस्तासम्म असर पर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताउनुभयो। मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘फेरि पनि मोलतोल, भागबण्डाको अवस्था रहने निर्वाचन परिणामले देखाएको छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ ।’ फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो हुने अवस्था आउने उहाँको भनाइ छ । यसले देश थप अस्थिरतातर्फ जाने उहाँले आशंका गर्नुभयो ।

उहाँले सरकार आफैँले कतिपय ठाउँमा बुथ क्याप्चर गरेको आरोप पनि लगाउनुभयो । चुनाव जित्न घरमा बसेका मान्छे तानेर लगेर मार्ने काम सरकारले गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्र भन्ने व्यवहारमा अपराधतन्त्र देखाउनु हुँदैन । हामी शान्ति र लोकतन्त्रमा विश्वास गर्छौ । यो हामीले कार्यान्वयन पनि गरेका छौं । लोकतन्त्र मन्त्र होइन यो जीवन पद्धति हो ।’

उहाँले  लोकतन्त्रको पवित्रतालाई जोगान आग्रह गर्नुभयो ।

कार्यक्रममा बुथ क्याप्तर र धाधली भएका स्थानमा पुनः मतदान गराउन निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराउनुभयो ।