अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावको परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्यो: अध्यक्ष ओली

चुनावको परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्यो: अध्यक्ष ओली


बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतपरिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताउनुभएको छ। निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिए पनि त्यसो हुन नसकेको उहाँको टिप्पणी छ ।

आज झापाको क्षेत्र नम्बर-५ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र लिनुभएपछि संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनको परिणाम सुखद् नभएको बताउनुभयो । मंसिर ४ गते सम्पन्न चुनावमा कसैको बहुमत नआउने भएपछि त्यसले सरकार गठनमा असर पर्ने र देशलाई दुर्घटनातिर लैजाने खतरा बढ्ने ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीले निर्वाचन परिणामले सुरुवातदेखि नै दल तथा सांसदहरुको मोलमोलाई सुरु हुने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ । मुलुकले एउटा दिशा पाउछ भन्ने आशा थियो । तर, त्यसो भएन । अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ । फेरि पनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउ कसेर किनबेच चल्ने भयो ।’

अध्यक्ष ओलीले अब बन्ने सरकारले फेरि पनि मुलुक र जनताको लागि काम गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब बन्ने सरकारले फेरि पनि जनता र मुलुक विकासको काम गर्न नसक्ने भयो । बहुमतको सरकार नबन्ने भएपछि दलहरु आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेन र भागबन्डामै लाग्दा ठीक्क हुन्छ ।’

उहाँले अब सरकार बनाउन र जोगाउन योग्यताभन्दा पनि टाउका हेरेर मोलतोल गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो ।