अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई प्रदान गर्ने निर्णय

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई प्रदान गर्ने निर्णय


काठमाडौं – यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको ११औं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिनुभयो।

पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गर्नुभएको हो । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गर्नुभएको उहाँ हाल उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत हुनुहुन्छ । आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएकी उहाँ विभिन्न पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री र नेपाल समाचार केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमका प्रधान सम्पादक सन्तोष आचार्य सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार दाहाललाई यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।

पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उहाँकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गर्नुभएको हो । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । न्युजकारोबार डटकमको छैटौं वार्षिकोत्सवको अवसरमा यही मंसिर २४ गते पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।

विजयबाबु पत्रकारिता पुरस्कारबाट पहिलो वर्ष ध्रुवहरि अधिकारी, दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम र गत वर्ष केशव पौडेल पुरस्कृत हुनुभएको थियो ।

Skip This