काठमाडौँ-नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकता कायम गर्दै १५औँ महाधिवेशन सफल बनाउन आफूले निरन्तर पहल गरिरहेको बताएका छन्।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टी विधान, संविधान र विधिअनुसार तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने स्पष्ट पारे। उनले महाधिवेशनलाई एकताबद्ध ढंगले अघि बढाउन पूर्वसभापति शेरबहादुर देउवासहित सबै पूर्वपदाधिकारीलाई सक्रिय रूपमा सहभागी हुन सार्वजनिक आग्रह गरे।
‘कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ। मेरो पनि अनुरोध छ– महाधिवेशन उद्घाटनमा आउनुहोस्,’ सभापति थापाले भने। उनले देउवालाई विशेष आग्रह गर्दै वडा अधिवेशनको उद्घाटनमा समेत सहभागी हुन अनुरोध गरे। ‘३ र ४ गतेबाट वडा अधिवेशन हुँदै छ। उहाँले आएर उद्घाटन गरिदिए हाम्रो लागि ठूलो सम्मानको विषय हुनेछ,’ सभापति थापाले भने।
सभापति थापाले आफू पार्टीको बृहत्तर एकताका लागि आवश्यक सबै पहल गर्न तयार रहेको उल्लेख गर्दै देउवासँग मिलेर अधिवेशन सञ्चालन गर्न कुनै बाधा नरहेको बताए। ‘हामी सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन। पार्टीको एकताका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्न तयार छु,’ सभापति थापाले भने।
उनले इतर पक्षबाट उठाइएका मागहरू सम्बोधन भइसकेको पनि दाबी गरे। पूर्णबहादुर खड्काले अघि सारेका ८ बुँदे तथा शेखर कोइरालाले प्रस्तुत गरेका ५ बुँदे माग सम्बोधन गरिएको उल्लेख गर्दै थापाले सबै नेता तथा पूर्वपदाधिकारीलाई महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे।
कांग्रेसको कार्यतालिकाअनुसार आगामी असोज ३ र ४ गते वडा अधिवेशन हुनेछ। त्यसपछि विभिन्न तहका अधिवेशन सम्पन्न गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको छ। बैठकमा पूर्वसभापति देउवानिकट प्रभावशाली नेताहरूको पनि सहभागिता रहेको छ।



प्रतिक्रिया