अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान दिवसलाई उत्सवका रूपमा मनाउँदै एमाले, अध्यक्ष ओलीले सम्बोधन गर्ने

संविधान दिवसलाई उत्सवका रूपमा मनाउँदै एमाले, अध्यक्ष ओलीले सम्बोधन गर्ने


काठमाडौं-नेकपा (एमाले)ले संविधान दिवसलाई भव्य र प्रभावकारी रूपमा मनाउने तयारी गरेको छ। संविधान दिवसको तयारीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलले आयोजना गरेको बैठकले नेपालको संविधान २०७२ को रक्षा र प्रभावकारी कार्यान्वयनको सन्देश प्रवाह गर्ने गरी विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले असोज ३ गते बिहान ८:३० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ।

संविधान दिवसका अवसरमा देशभर विभिन्न रचनात्मक तथा जनसहभागितामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ। बैठकले प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूलाई स्थानीय आवश्यकता र विशेषताअनुसार प्रभावकारी कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ।

त्यसैगरी, अनेरास्ववियु, ट्रेड युनियनलगायत पार्टीसम्बद्ध जनसंगठनहरूले पनि आफ्ना मौलिक नारासहित विविध कार्यक्रम सञ्चालन गर्ने भएका छन्। संविधानको रक्षा, संवैधानिक व्यवस्थाको सुदृढीकरण तथा संविधानप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित एमालेले यस वर्षको संविधान दिवसलाई व्यापक रूपमा मनाउने तयारी गरेको जनाएको छ।