बझाङ–बिरामी र असहाय अवस्थामा रहेको एउटा कुकुरलाई जिउँदै सेती नदीमा फालेको आरोपमा बझाङ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमला देवी रोकायालाई पक्राउ गरिएको हो।
प्रहरीले उनलाई बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार उक्त कुकुर करिब दुई सातादेखि बिरामी थियो। शरीरको पछाडिको भाग पाकेको र घाउबाट दुर्गन्ध आउने अवस्थामा रहेको कुकुरले घरनजिकको बाटो भएर हिँड्ने मानिसलाई टोक्न थालेपछि महिलाले पुलबाट सेती नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तर, बिरामी, अशक्त वा मानिसलाई जोखिम पुर्याउन सक्ने अवस्थामा रहेको भए पनि एउटा जीवित प्राणीलाई नदीमा फाल्नुको दृश्यले जनावरप्रतिको मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ। उपचार, उद्धार वा सम्बन्धित निकायलाई खबर गर्ने विकल्प हुँदाहुँदै कुकुरलाई नदीमा फालिएको घटनाले पशुमाथि हुने व्यवहारबारे थप संवेदनशील हुनुपर्ने आवश्यकता देखाएको छ।
घटनामा संलग्न महिलामाथि के-कस्तो कानुनी कारबाही हुन्छ भन्ने विषय पनि अनुसन्धान र कानुनी प्रक्रियाबाट टुंगो लाग्नेछ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।



प्रतिक्रिया