काठमाडौं-नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको बिक्री मूल्य पुनः निगमले तोकेकै दरमा कायम गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत शुक्रबार (असोज २ गते) देखि लागू हुने गरी प्रति सिलिन्डर २ हजार ६० रुपैयाँमै ग्यास बिक्री-वितरण गर्न अनुरोध गरेको हो।
संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा काठमाडौं उपत्यकामा ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई निगमले निर्धारण गरेको मूल्यभन्दा बढी नलिई बिक्री गर्न तथा आफ्ना बिक्रेता र वितरकलाई समेत त्यसबारे जानकारी गराउन भनिएको छ।
भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्तिमा समस्या उत्पन्न भएको थियो। त्यसपछि उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषास्थित उद्योगमा सिलिन्डर रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास आपूर्ति गर्दै आएका थिए।
सोही कारण बढेको ढुवानी खर्चलाई ध्यानमा राख्दै संघले भदौ १८ गते प्रति सिलिन्डर २ हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा थप गरी २ हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न आग्रह गरेको थियो।
तर अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक सञ्चालनमा आएर यातायात सेवा सुचारु हुन थालेपछि एलपी ग्यास बुलेटहरू समेत काठमाडौं आउन थालेका छन्। आपूर्ति अवस्था सहज बन्दै गएपछि संघले अब पुनः साविककै मूल्य अर्थात् प्रति सिलिन्डर २ हजार ६० रुपैयाँमा ग्यास बिक्री–वितरण गर्न उद्योगीहरूलाई अनुरोध गरेको जनाएको छ।




प्रतिक्रिया