अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ मा एमाले पहिलो दल, सरकार बनाउने सम्भावना

प्रदेश-१ मा एमाले पहिलो दल, सरकार बनाउने सम्भावना


विराटनगर – प्रदेश १ को प्रदेशसभामा नेकपा एमाले पहिलो पार्टी बनेको छ। प्रत्यक्षमा २५ र समानुपातिकमा १५ सिट गरी ४० सिट जित्दै एमाले पहिलो पार्टी बनेको हो । समानुपातिकतर्फको मतगणना सकिँदा एमालेले १५ सिट पाएको छ।

प्रदेशमा समानुपातिकमा १८ लाख ९९ हजार १४४ मत पाएको थियो । एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत पाएको छ । यस्तै नेपाली काँग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादीले ५५ हजार ९५७ मत पाएका छन् ।

समानुपातिबाट एमालेले १५ पाउँदा नेपाली काँग्रेसले १२, नेकपा माओवादी केन्द्रले ४, राप्रपाले ४, जनता समाजवादी पार्टी र नेकपा एसले १–१ सिट पाउने भएका छन् । एमालेले प्रत्यक्षमा २५, कांग्रेसले १७, माओवादीले ९, नेकपा एसले ३ र राप्रपाले २ सिट पाएका छन् ।

५६ प्रत्यक्ष निर्वाचन क्षेत्र र ३७ समानुपातिक गरी प्रदेशमा ९३ सदस्यीय प्रदेशसभा छ । प्रत्यक्ष र समानुपातिक गरी एमालेको ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ सिट हुने भएको छ ।

प्रदेशमा सरकार बनाउन ९३ जनामध्ये ४७ जनाको आवश्यकता पर्छ । तर, प्रदेशमा कुनै दलले यो सिट संख्या प्राप्त गर्न सकेन । सरकार बनाउन अब दुई वा दुईभन्दा बढी दल मिलेर जानुपर्ने अवस्था देखिन्छ। गठबन्धन गरेर निर्वाचनमा होमिएका कांग्रेस, माओवादी र नेकपा एस मिल्दा पनि बहुमत नपुग्ने अवस्था छ । यो गठबन्धनले ४६ संसद प्राप्त गरेको छ । यता, नेकपा एमालेलाई सरकार बनाउन राप्रपा र जसपाको समर्थन आवश्यक छ । एमालेले जसपा र राप्रपाले समर्थन गर्दा बहुमत पुग्छ ।