अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावअघि माधव नेपालले २० लाख समानुपातिक मत ल्याउँछु भन्नुहुन्थ्यो, तर तीन लाख आएन

चुनावअघि माधव नेपालले २० लाख समानुपातिक मत ल्याउँछु भन्नुहुन्थ्यो, तर तीन लाख आएन


काठमाडौं – निर्वाचन हुनुअघि प्रचार-प्रसारका क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गर्नुभएको थियो ।

अध्यक्ष नेपालले सबैभन्दा धेरै मत ल्याएर आफ्नो पार्टी पहिलो बन्ने पनि बताउनुभएको थियो ।  तर, १ करोड चार लाख समानुपातिक मतगणना भइसक्दा नेकपा एसले दुई लाख ९४ हजार ३६२ मत पाएको छ। अर्थात् तीन लाख ल्याउन पनि हम्मे हम्मे परेको छ ।

डेढ वर्षअघि मात्र नेकपा एमाले विभाजन गरेर अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठन गर्नुभएको थियो । पार्टी गठन भएको आठ महिनापछि भएको स्थानीय तहको निर्वाचनमा नेकपा एसले एक महानगरपालिका, एक उपमहानगरपालिकासहित नगरपालिका र गाउँपालिका जितेको थियो । त्यसैले संसदीय निर्वाचनमा पनि आफ्नो पार्टीले उल्लेख्य मत ल्याउने नेता नेपालको अपेक्षा थियो । तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न संघर्षरत छ ।

हालसम्मको मतगणनाले एकीकृत समाजवादी पार्टी नबन्ने सम्भावना प्रबल छ । अझै स्याङ्जा २, बाजुरा र दोलखाको समानुपातिक मत गन्न बाँकी छ। एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अझै १७ हजार मत आवश्यक पर्छ । तर, त्यति ल्याउन उसलाई महाभारत नै पर्ने देखिन्छ ।

राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएमा एकीकृत समाजवादीले संसद् सचिवालयबाट पाउने सेवासुविधा सबै गुमाउने छ । त्यति मात्र होइन, राष्ट्रिय पार्टीको हैसियतमा नभई उहाँ संसदमा स्वतन्त्र दलको हैसियतमा रहनुहुनेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी भाषणमा दाबीका साथ माधवकुमार नेपालको पार्टी राष्ट्रिय पार्टी नबन्ने बताउनुभएको थियो ।  चुनावी परिणामले एकीकृत समाजवादी त्यही बाटोमा अग्रसर भएको देखिएको छ ।