अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाको साथ एमालेलाई नै : प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बन्ने

जसपाको साथ एमालेलाई नै : प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बन्ने


काठमाडौं- प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ ।
अस्ती विराटनगरमा आफूले बोलेको विषयलाई अनावश्यक र अतिरञ्जित ढंगले प्रचार गरिएको जनता समाजवादीका नेता उपेन्द्र यादवले आफूलाई भेट्न गएका नेताहरुलाई बताउनुभएको छ । यादवले ‘एमालेसँगको सहकार्य सकिएको’ भन्ने अभिव्यक्ति दिएको भनेर सञ्चार माध्यममा आएपछि एमालेका प्रदेश १ का विभिन्न तहका नेताहरु यादवलाई भेट्न निवासमा पुगेका थिए ।
यादबले आफूले एमालेसँगको सहकार्यको एउटा अध्याय सकिएको भनेकोमा एमालेसँगको सहकार्य नै सकिएको भनेर प्रचार भएको दुखेसो गर्नुभएको हो । उहाँले आफू सत्ता गठबन्धनको विपक्षमा रहेको नेताहरुलाई बताउनुभएको छ । ‘उपेन्द्र यादवले शनिबार करिब दुई घण्टा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको छ ’ यादवलाई भेटेर फर्किएका नेताले भने ‘उहाँहरुको समान धारणा यो छ कि गठबन्धनले देशको हित गर्दैन । चुनावी तालमेल गरेका एमाले जसपा सरकारमा जाने अवश्थामा समिकरण गरेर जानु पर्दछ भन्ने छ । ’
खासगरी प्रदेश १ मा जसपाले एमालेको साथ छोडेकोले गठबन्धनको सरकार बनाउन ब्यापक कसरत सुरु भएको थियो । तर उपेन्द्रको राष्ट्रिय नीति नै चुनाव अघि फुटाएको गठबन्धनमा मिसिन नजाने भएकोले प्रदेश १ को सरकार एमालेको नेतृत्वमा बन्ने कुरामा द्विविधा नभएको नेताहरुले बताएका छन् । हिजो मात्र जसपाका वरिष्ठ नेता अशोक राईले यादवको भनाइ पार्टीको आधकिारिक नभइ व्यक्तिगत भएको बताउनुभएको छ । सुनसरी १ मा एमालेको साथले चुनाव जित्नु भएका राईले प्रदेश १ को सरकार एमालेसँग कै तालमेलमा गठन हुने संकेत गर्नु भएको छ ।
जसपाका प्रवक्ता मनिष कुमार सुमनका अनुसार एमालेसँग चुनावी तालमेलको प्रयोजन सकिएको भन्ने अध्यक्ष यादवलको भनाइलाई तोडमोड गरेर सञ्चार माध्यममा समाचार आयो । ‘एमालेसँग सबै तालमेलका सम्भावना सकिएको भनेर अध्यक्षज्यूले भने जसरी समाचार आयो उहाँको आशय त्यो थिएन’ सुमनले यो बेलासँग कुरा गर्दै भन्नुभयो ‘केही राष्ट्रिय मुद्धामा शर्त सहित हामी एमालेलाई नै साथ दिने पक्षमा छौं ।’ सुमनका अनुसार प्रदेश १ मा सरकार गठनका लागि जसपाको साथ एमालेलाई नै हुन्छ ।
एमाले स्थायी कमिटी सदस्य एवं मूख्यमन्त्रीको प्रमुख दाबेदार हिक्मत कार्कीले पनि यादवसँग भेटघाट गर्नु भएको छ । ‘दुईदिन अघि उहाँसँग मेरो भेटघाट भयो । चुनाव अघिको सहमती कायम गरेर जाने पक्षमा उहाँ दृढ हुनुहुन्छ’ कार्कीले यो बेलासँग भन्नुभयो । स्रोतका अनुसार कार्कीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग पनि भेटेर प्रदेश सरकारको खाका बारेमा पहिलो चरणमो छलफल गर्नु भएको छ । लिङदेनले एमालेसँगको सहकार्यमा सरकार बनाउन आफू चुनाव अघि नै तयारी भएर तालमेल गरेकोले ढुक्क भएर अघि बढ्न कार्कीलाई भन्नुभएको छ ।
कार्की एमालेसँग चुनावी तालमेल गरेका पार्टीहरु बीच नै गठबन्धन बनेर प्रदेश सरकार गठन हुने बताउनुहुन्छ । ‘चुनावी तालमेल गरेका एमाले,राप्रपा र जसपा मिलेर नै प्रदेश नं १ को सरकार बन्छ यसमा तीनवटै पार्टीका नेताहरु क्लियर हुनुहुन्छ ’ कार्कीले यो बेलासँग भन्नुभयो ।
९३ सदस्यीय प्रदेश सभामा एमालेले प्रत्यक्षमा २५ सिट जितेको छ भने समानुपातिकमा १५ पाउने निश्चित छ । एमालेसँगको चुनावी तालमेलमा रहेको राप्रपाले प्रत्यक्षमा दुई सिट जितेको छ भने समानुपातिकमा चार सिट पाउने निश्चित छ । त्यसै गरी एमालेसँगै तालमेल गरेको जसपाले समानुपातिकमा एक सिट जितेको छ । जसले गर्दा एमालेको नेतृत्वमा ४७ सिट हुने सहित बहुमत हुने नेताहरुको दाबी छ ।