अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्तोषजनक नतिजा नआएपछि माओवादीका युवा नेताहरु छलफलमा

सन्तोषजनक नतिजा नआएपछि माओवादीका युवा नेताहरु छलफलमा


काठमाडौं – मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले कमजोर नतिजा आएपछि नेकपा माओवादी केन्द्रका युवा नेताहरू छलफलमा सक्रिय हुनुभएको छ। पार्टी कमजोर हुँदै गएको अवस्थामा उहाँहरूले यसको पुनर्गठन वा अर्को विकल्प खोज्ने भन्दै भेलाको आयोजना गरेका हुन् ।

पार्टी नेतृत्वले समस्या समाधानका लागि पहल नगर्ने हो भने अब माओवादीको भविष्य नभएको प्रारम्भिक मतका आधारमा भेला गर्नु परेको एक नेताले बताउनु भयो।

स्थानीय, प्रदेश तथा संघीय संसद्‌को चुनावमा माओवादीले अपेक्षाकृत जित निकाल्न नसकेको, पार्टी सिद्धान्त र व्यवहारमा निरन्तर क्षयीकरण हुँदै गएको र अब पनि माओवादी आन्दोलनको पुनर्गठन नगर्ने हो भने निरन्तर ओरालो लाग्ने पक्का भएकाले युवाहरूले पहलकदमी लिनु परेको एक केन्द्रीय सदस्यले बताउनुभयो ।

काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा आज १ बजेबाट पार्टीलाई अब कसरी लैजाने भनेर छलफलको लागि भेला बोलाएको अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो ।

‘पार्टीको पुनर्गठन गर्नुपर्छ भन्ने चाहना भएका युवाहरू आज बसेर एक चरण छलफल गरेर आएका निचोडहरूलाई पार्टी शीर्ष नेतृत्वसमक्ष बुझाउने तयारी छ । यसमा युवा मात्रै नभएर पार्टी पदाधिकारी, स्थायी तथा पोलिटब्युरो र केन्द्रीय सदस्यहरूसमेत सहभागी हुनुहुन्छ । माओवादी नेता लेखनाथ न्यौपानेले भन्नुभयो, ‘माओवादीका जनवर्गीय संगठनका अध्यक्ष र महासचिव पनि उपस्थित हुनभएको छ ।’

अर्का युवानेता रामदीप आचार्यले पार्टी पुनर्निर्माणका लागि युवाहरूले पहल गर्नुपर्ने अवस्था आएकाले छलफल गर्न लागेको बताउनु भयो । आजको भेलामा काठमाडौंमा उपलब्ध युवानेताहरूसँगै उपमहासचिव हरिबोल गजुरेल लगायत सहभागी हुन लागेका छन् ।

देशभरका युवानेताहरूसँग छलफल गरेर आउने निष्कर्ष पार्टी अध्यक्ष प्रचण्डलगायत शीर्ष नेतालाई बुझाउने उनीहरूको तयारी छ । यसमा माओवादीका युवानेताहरूमा लेखनाथ न्यौपाने, रामदीप आचार्य, हिमाल शर्मा, रञ्जित तामाङ, डीपी ढकाललगायत सहभागी भएर भेला आयोजना गरेका हुन् ।