कैलाली । सुदूरपश्चिममा सभामुख र उपसभामुख चयनका लागि संविधानले दिएको समय सीमा आज सकिँदैछ । प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकिएको हो ।
सभामुख चयनका लागि आज बिहान ९ बजे पुनः प्रदेश सभाको बैठक बोलाइएको छ ।
पोखरामा भएको विमान दुर्घटनामा सरकारले शोक बिदा दिए पनि सुदूरपश्चिममा भने संवैधानिक जटिलता उत्पन्न हुने भएकाले बैठक बस्नै पर्ने बाध्यता छ ।
प्रदेश सभा सचिवालयका अनुसार बिहानैसर्वदलीय बैठक पछि प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी छ ।
सभामुख चयनका लागि २८ पुसमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका भीम भण्डारीले २६ र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गर्नुभएको थियो । सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।
३० पुसमा भएको पुनः मतदानमा भने दुवै उम्मेदवारले २२र२२ मत पाउनुभएको थियो । सत्तारुढ गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा ३० गते पनि कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न सक्नुभएन ।
संविधानको धारा १८२ को उपधारा १ अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो । सो अनुसार सभामुख चयन गरिसक्नुपर्ने समय आज सकिँदैछ ।




प्रतिक्रिया