अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छ: उपाध्यक्ष नेम्बाङ

जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छ: उपाध्यक्ष नेम्बाङ


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताउनुभएको छ।

एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ मा उहाँले  संविधानमा जुनुसुकै कुराको जवाफ रहेकाले मुलुकका समस्या समाधान गरिने बताउनुभयो । उहाँले देश अप्ठ्यारो, कमीकमजोरीमा परेको बेला राजनीतिक दलका नेताहरूले अहिलेको ठाउँसम्म ल्याइ पु¥याएको उल्लेख गर्दै दलका नेताहरूले देशलाई सकारात्मक दिशातिर पु¥याउने धारणा राख्नुभयो ।

उहाँले छिमेकी मुलुक भारतमा संविधान स्वीकार्य गर्न १० वर्ष लागेको उल्लेख गर्दै तर नेपालमा छ वर्षमा नै संविधान कार्यान्वयन गरिएको बताउनुभयो । उहाँले जनताले निर्माण गरेको संविधान विगतको जस्तो आठ÷दश वर्षमा भत्कने अवस्था नरहेको बताउनुभयो ।

‘जनताले जनताका निम्ति बनाएको संविधान हो’, उहाँले भन्नुभयो, ‘यो संविधान कुनै राणा शासन, राजाले नभई जनताले आफैँ बनाएको हुनाले आठ-दश वर्षमा भत्कने अवस्थाको खतरा छैन ।’ उहाँले सहिद सम्मानमा राजनीतिक दलबीच समझदारी गरी निर्माण गरिएको संविधानको कार्यान्वयन गर्दै जाने र आवश्यकताअनुसार परिवर्तन र परिमार्जन गर्दै जानुको विकल्प नभएको बताउनुभयो ।

अर्का उपाध्यक्ष युवराज ज्ञवालीले सहिदको बलिदानले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक क्रान्ति सम्पन्न भए पनि आर्थिक, सामाजिक क्रान्ति बाँकी रहेको उल्लेख गर्नुभयो ।

महासचिव शङ्कर पोखरेलले राजनीतिक दुष्चक्र फेरि पनि कायम गर्न खोजिएको आशङ्का गर्नुभयो । “मुलुकमा फेरि पनि राजनीतिक अस्थिरताका खेल भइरहेका छन्”, उहाँले भन्नुभयो, “त्यसप्रति एमाले गम्भीर रहेको छ । एमाले अस्थिरताको खेललाई समाधान गर्न दृढ रहेको छ ।”