काठमाडौं-देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा २४ घण्टाको अवधिमा सात जनाको मृत्यु भएको छ। तनहुँ, नुवाकोट, झापा, उदयपुर, बर्दिया र बाँकेमा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार कात्तिक २८ गते तनहुँको व्यास नगरपालिका–१२ छिर्केनेस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालक ३२ वर्षीय शम्भु विकको मृत्यु भएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ प ४४१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा पल्टिँदा भानु नगरपालिका–५ मैबलका विक घाइते भएका थिए। उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–६ नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय नारायण कार्कीको मृत्यु भएको छ। दुप्चेश्वरबाट सातबिसेतर्फ जाँदै गरेको बा.५ प १३०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पञ्चकन्या गाउँपालिका–४ का कार्की घाइते भएका थिए। उनलाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको चिकित्सकले जानकारी दिएका थिए।
झापाको शिवसताक्षी नगरपालिका–८ बुद्धचोकस्थित पूर्व–पश्चिम राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा २१ वर्षीय साहित गजमेरको मृत्यु भएको छ। बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८०३५ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ९ प ३३४ नम्बरको मोटरसाइकल ठोक्किँदा बुद्धशान्ति गाउँपालिका–३ का गजमेर घाइते भएका थिए। उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा २२ वर्षीय रोशन परियारको मृत्यु भएको छ। गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को.७ त ५३२५ नम्बरको ट्र्याक्टर ठोक्किँदा धनकुटा नगरपालिका–५ का परियार घाइते भएका थिए। उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा उनको मृत्यु भएको हो।
बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकमा मिनी फोर्स गाडी र भारतीय मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल ठोक्किँदा भारतको चण्डीगढ घर भएका ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार राप्तीसोनारी गाउँपालिका–५ चिलरियाका ५५ वर्षीय दलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको हो।
बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीस्थित नेपालगञ्ज–कोहलपुर सडकखण्डमा गाडीको ठक्करबाट ५७/५८ वर्षीया दमन्ती सापकोटाको मृत्यु भएको छ। नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको म.प्र.०२–००१ ख ३३५ नम्बरको गाडीले कोहलपुर नगरपालिका–२ सिद्धनगरकी सापकोटालाई ठक्कर दिएको थियो। घाइते उनलाई उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।



प्रतिक्रिया