काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल ११ दिने चीन भ्रमणमा गएको छ।
पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल आइतबार मित्रराष्ट्र चीन प्रस्थान गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा टोली चीन गएको रास्वपाले जनाएको छ।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहभागी छन्।
त्यस्तै, सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा पनि टोलीमा छन्।
चीन प्रस्थान गर्नुअघि रास्वपा प्रवक्ता जगदीश खरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर प्रतिनिधिमण्डललाई बिदाइ गरेका थिए।
११ दिनसम्म चल्ने भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अधिकारीहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम छ।
भ्रमणले नेपाल र चीनका राजनीतिक दलबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै आपसी समझदारी र सहकार्य विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको रास्वपाले जनाएको छ।



प्रतिक्रिया