काठमाडौं – परराष्ट्रमन्त्री विमला राई पौड्याल यही साता श्रीलंका भ्रमणमा जाँदै हुनुहुन्छ।
श्रीलंका बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५औं वर्ष गाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन मन्त्री राई कोलम्बो जान लाग्नुभएको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुशार मन्त्री राई बिहीबार (१९ गते) त्यसतर्फ जाने तय भएको छ। ‘मन्त्रीको श्रीलंका भ्रमण तय भएको छ। हामी भ्रमणको तयारीमा छौं’, मन्त्रालयका एक उच्च अधिकारीले बताउनुभयो ।
श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेले शनिबार स्वतन्त्रताको ७५ औं वर्षगाँठका अवसरमा विशेष समारोह आयोजना गर्दैछन्। त्यस अवसरमा विभिन्न देशका परराष्ट्र मन्त्री लगायत उच्च पदस्थ अधिकारीलाई निम्त्याइको छ।
कार्यवाहक राजदूत डिल्मिनीले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिलेले पठाएको निम्तोलाई परराष्ट्र मन्त्री पौड्याललाई हस्तान्तरण गर्नुभएको हो । श्रीलंकाको स्वतन्त्रता दिवस फेब्रअरी ४ मा रहेको छ ।
श्रीलंका भ्रमणका क्रममा मन्त्री राईले उच्चस्तरीय भेटवार्ता पनि गर्नुहुने छ। समकक्षी साब्रिसँग कोलम्बोमा परराष्ट्रमन्त्री राईको द्विपक्षीय भेटवार्ता हुँदैछ । त्यसक्रममा श्रीलंका-नेपाल राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धका विविध पक्षबारे कुराकानी हुने जनाइएको छ ।




प्रतिक्रिया