काठमाडौं– अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ।
मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुग्नुभएका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझ्नुभएको हो । अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिएका थिए ।
भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राखेका थिए।
सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धि लगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा नेताहरु रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरिया लगायत उपस्थित हुनुहुन्थ्यो । ६ दिने भ्रमण सकेर सभामुख नेतृत्वको ९ सदस्यीय प्रतिनिधि मण्डल बिहीबार स्वदेश फर्कंदैछ।




प्रतिक्रिया