अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा १८८ देशका राष्ट्रिय झण्डा फरफर

बागलुङमा १८८ देशका राष्ट्रिय झण्डा फरफर


बागलुङ – बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधे क्षेत्रमा संसारका १८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ। 

आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले विश्व सांस्कृतिक अभियान समूहको अगुवाइमा झण्डा स्थापना गरिएको हो । 

घोडाबाँधे काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सीमा क्षेत्र हो । झण्डा स्थापना गरिएको क्षेत्रबाट धौलागिरि, माछापुच्छ्रे, मानापाथीलगायतका दर्जनौँ हिमशृङखला अवलोकन गर्न सकिन्छ। 

घोडाबाँधे क्षेत्रलाई विश्व सांस्कृतिक गाउँको रूपमा विकास गर्ने लक्ष्यका साथ पर्यटकीय गतिविधि, कार्यक्रम तथा संरचना निर्माण गर्न थालिएको पर्यटन विकास अभियन्ता कृष्णबहादुर केसीले बताउनुभयो । ‘यो क्षेत्रमा विश्वको नक्सा जस्तै घर बनाउने योजनामा छौँ’ अभियन्ता केसीले भन्नुभयो–‘घोडाबाँधेमा पुग्ने पर्यटकले विश्व भ्रमण गरेको अनुभव गर्ने गन्तव्य बनाउँछौँ ।’ काठेखोला तथा जैमिनीको सीमा क्षेत्रमा पर्यटकीय क्षेत्र जागादहदेखि धम्जास्थित पर्यटकीय क्षेत्र बेलढुङ्गा जोड्ने गरी पर्यटकीय पदमार्ग पहिचान गरिएको छ। 

जागादेखि बेलढुङ्गासम्मको यात्रामा बीच भागमा घोडाबाँधे क्षेत्र पर्छ। सबै देशको झण्डा स्थापनाले स्वदेशी तथा विदेशी पर्यटक उक्त क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ। झण्डा राखिएको स्थान बागलुङ सदरमुकाम बागलुङ बजारदेखि मध्यपहाडी लोकमार्गको २५ किलो मिटर दुरी पार गर्दै पुग्न सकिन्छ। 

बागलुङका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रलाई व्यावसायिक पर्यटनको रूपमा विकास गर्न अभियान सञ्चालन भइरहेको अभियन्ता केसीले बताउनुभयो । ‘हाम्रो जिल्लामा पर्यटक विकासको अथाह सम्भावना छ’ उहाँले भन्नुभयो–‘जिल्लाको एकीकृत विकासको लागि वैशाख २२ गते ढोरपाटनमा विकास सम्मेलन आयोजना गरिएको छ ।’

पर्यटकीय नगर पोखरामा आउने पर्यटकलाई बागलुङ भित्र्याउने र केही हप्ता जिल्लामै बस्ने वातावरण मिलाउन पोखरासँग समन्वय भइरहेको केसीको भनाइ छ । काठेखोला क्षेत्रमा भएका पर्यटकीय सम्भावनाका क्षेत्रको पहिचान र विकासमा गाउँपालिकाले आवश्यक नीति, कार्यक्रम र बजेट विनियोजन गर्ने काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो ।

‘झण्डा स्थापनाले तत्काल आन्तरिक पर्यटनको विकास हुन्छ’ उहाँले भन्नुभयो–‘क्रमशः यो क्षेत्रमा अन्य संरचना तयार गरी बाह्य पर्यटक पनि भित्र्याउन कार्यक्रम बनाउँछौँ ।’