अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछौँ: ऐनबहादुर महर

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछौँ: ऐनबहादुर महर


काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक तथा संसदीय उपसमिति सदस्य ऐनबहादुर महरले संसदीय समिति भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महरले पोसाक तथा सम्बन्धित सामग्री खरिदसम्बन्धी उजुरीमाथि अध्ययन गर्न उपसमिति गठन गरी कार्यविधि टुंगो लगाइएको जानकारी दिए।

उनका अनुसार उपसमितिले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खरिद प्रक्रिया, बजेट विनियोजन, बोलपत्र, ठेक्का, गुणस्तर, मूल्य निर्धारण तथा आपूर्ति व्यवस्थापनलगायत विषयमा विस्तृत अध्ययन गर्नेछ।

अध्ययनका क्रममा कुनै अनियमितता देखिए थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई सिफारिस गरिने महरले बताए। उनले उजुरी वा आरोपलाई मात्रै आधार बनाएर निष्कर्षमा पुग्न नहुने भन्दै तथ्य र प्रमाणका आधारमा अध्ययन गरिने स्पष्ट पारे।

‘हामी भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट छौँ। तर उजुरी वा आरोप नै अन्तिम निष्कर्ष होइन। अध्ययन गर्दा संविधान, कानुन र उचित प्रक्रियाको पूर्ण पालना गरिनेछ,’ महरले भने।

यो विषय कुनै व्यक्ति विशेषसँग मात्र सम्बन्धित नभएको उल्लेख गर्दै उनले राज्यका संस्थालाई पारदर्शी, जवाफदेही र सुदृढ बनाउनु उपसमितिको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार अध्ययनपछि प्राप्त तथ्य र प्रमाणका आधारमा लेखा समितिको साझा निष्कर्षमा पुग्नेछ।