काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि मतदान गर्नेछन्। सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा सारिएको हो। मतदानका लागि राष्ट्रिय सभा गृह र खुलामञ्चमा विभिन्न हल तथा केन्द्र तोकिएका छन्।
बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिले खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नेछन्। गण्डकी प्रदेशका प्रतिनिधिका लागि हिमाल हल, मधेश प्रदेशका लागि तराई–मधेस हल तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि पहाड हल तोकिएको छ।
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिले आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्नुपर्नेछ। मतदानअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ। मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पाइने छैन।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
महाधिवेशनले विधान संशोधन गरी कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। मतदान सकिएपछि मतगणना सुरु गरी क्रमशः परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।



प्रतिक्रिया