अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० वर्षीया बालिका अपहरण गर्ने व्यक्तिलाई गोली हानेर पक्राउ

१० वर्षीया बालिका अपहरण गर्ने व्यक्तिलाई गोली हानेर पक्राउ


रुपन्देही-रुपन्देहीबाट १० वर्षीया बालिकाको अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर पक्राउ गरेको छ। तिलोत्तमा नगरपालिका-१७, दरखसवाका २७ वर्षीय युवराज थारु ‘विशाल’लाई प्रहरीले शनिबार राति धानखेतमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा थारुले प्रतिकार गर्दै भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन एक राउन्ड गोली चलाइएको थियो। गोली लागेर खुट्टामा घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार थारुले गत बुधबार राति तिलोत्तमाकै एक १० वर्षीया बालिकालाई घरमा सुतिरहेको अवस्थामा अपहरण गरेका थिए। बालिका भाइसँग घरभित्रको कोठामा सुतिरहेकी थिइन् भने हजुरबुबा र हजुरआमा घरबाहिर सुतेका थिए। राति करिब २ बजे बालिका ओछ्यानमा नभएको थाहा पाएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो।

बालिका हराएपछि प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपास तथा जंगल क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको थियो। करिब ३८ घण्टापछि शुक्रबार राति तिलोत्तमा-१०, कान्छीबजार नजिकैको जंगल क्षेत्रबाट बालिकालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

बालिकाको उद्धारपछि प्रहरीले अपहरणमा संलग्न रहेको आरोप लागेका थारुको खोजी तीव्र बनाएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार थारुको खोजीमा करिब १५० प्रहरी परिचालन गरिएको थियो।

खोजीका क्रममा शनिबार राति धानखेतमा लुकेर बसेको अवस्थामा थारुलाई फेला पारिएको श्रीवास्तवले बताए। पक्राउ गर्ने क्रममा उनले प्रतिकार गर्दै भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा थारुले यसअघि पनि महिलालाई पछ्याउने, घरभित्र प्रवेश गर्ने तथा महिलामाथि दुर्व्यवहार गर्ने गरेको खुलेको जनाइएको छ।

पक्राउ परेका थारुमाथि अपहरणलगायतका कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।