गोवा -भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रिपोर्टअनुसार गोवाको डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म निरन्तर सीपीआर दिए पनि उनलाई बचाउन सकेनन्। मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करका अनुसार उनको बिहान ५ः२० बजे निधन भएको हो। घटनालाई मेडिको–लिगल केसका रूपमा दर्ता गरी मृत्युको यकिन कारणका लागि पोस्टमार्टमको तयारी गरिएको छ।
पाटेकरको निधनको खबर सार्वजनिक भएसँगै भारतीय चलचित्र तथा कला क्षेत्रमा शोक छाएको छ। उनको निधनप्रति कलाकार, पत्रकार तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। वरिष्ठ पत्रकार राजदीप सरदेसाईले नाना पाटेकरसँगको अन्तिम संवाद स्मरण गर्दै उनलाई श्रद्धाञ्जली दिएका छन्।
नाना पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा परिचित थिए। सन् १९८९ को ‘परिन्दा’मा अन्नाको भूमिकाबाट व्यापक चर्चा कमाएका उनले उक्त भूमिकाका लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए। त्यसपछि ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको तथा ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार जिते। यससँगै उनी तीन राष्ट्रिय फिल्म पुरस्कार जित्ने अभिनेताका रूपमा स्थापित भएका थिए। भारतीय सिनेमामा योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मान गरिएको थियो।
गम्भीर र प्रभावशाली भूमिकासँगै हास्य भूमिकामा पनि पाटेकर उत्तिकै लोकप्रिय थिए। सन् २००७ को ‘वेलकम’मा उनले निर्वाह गरेको ग्याङ्स्टर उदय शेट्टीको भूमिका निकै चर्चित बनेको थियो। उनले ‘वेलकम ब्याक’मा पनि यही पात्रलाई निरन्तरता दिएका थिए।
अभिनयका अतिरिक्त पाटेकरको सैनिक जीवनप्रतिको रुचि पनि चर्चित थियो। ‘प्रहार : द फाइनल अट्याक’का लागि उनले भारतीय सेनासँग सैन्य तालिम लिएका थिए। मराठा लाइट इन्फेन्ट्रीसँग तालिम लिएर उनले सैनिक जीवनको अनुभव हासिल गरेका थिए। सन् १९९९ को कारगिल युद्धका क्रममा समेत उनी सैनिकहरूसँग बसेर विभिन्न स्थानमा पुगेका थिए।
जीवनको अन्तिम समयसम्म अभिनयमा सक्रिय रहेका पाटेकर पछिल्ला वर्षमा पनि चलचित्र र ओटीटीमा देखिँदै आएका थिए। उनको निधनले भारतीय सिनेमाले सशक्त अभिनय, दमदार संवाद र विशिष्ट व्यक्तित्व भएका एक प्रतिभाशाली कलाकार गुमाएको छ।



प्रतिक्रिया