काठमाडौं – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भन्सुन नलाग्ने दाबी गर्नु भएको छ।
राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहनु भएका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताउनुभएको हो । उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भन्सुनको महत्त्व आफूले नदेखेको पटकपटक दोहोर्याउनुभयो।
पूर्वगभर्नर नेपालले आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीहरुले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि बताउनुभयो । तर त्यसका लागि ‘कोही पनि सबै कुरामा जान्ने हुँदैनन्’ भन्ने मान्यतालाई आत्मासात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । पूर्वगभर्नर नेपालले व्यापार गर्नका लागि झन धेरै अध्ययन आवश्यक पर्ने स्मरण गराउनुभयो ।
‘मेरो सोर्स चाहिन्छ । सोर्सको मैले त्यत्तिको महत्त्व देखेकै छैन । मैले त राष्ट्र बैंकमा बसेर देखेको हो नि । मलाई थाहा छ। तपाईंहरुले सोधे हुन्छ–राष्ट्र बैंकमा सोर्स लाग्दैन । त्यहाँ मजाले आफ्नो क्षमताले जागिर खाने हो । त्यहाँ तल्लो तहदेखि माथिल्लो तहसम्म जागिर जान सोर्स चाहिदैन । क्षमतालाई आफैंले उजागर गर्ने हो । कोही पनि पर्फेक्ट हुँदै हुँदैन ।’ उहाँले भन्नुभयो, ‘सबै पढेर तैँले त बढि जानेको छस भन्ने हुँदै हुँदैन। आफैंले कोशिस गरेर आफैं जान्ने हुने हो । भगवानले हामीलाई यस्तो रिर्सोसेस दिएका छन् । जति त्यसको प्रयोग गर्यो, त्यति फाइदा लिन सकिन्छ । त्यो के हो ? भन्दा दिमाग हो । यसलाई जति प्रयोग गर्यो, त्यति फाइदा हुन्छ । जतिसक्यो त्यसलाई त्यति प्रयोग गर्नु पर्दछ । मलाई दुःख लाग्छ । हामी कहाँ कस्तो संस्कार भयो भने १० कक्षा दश वर्ष फेल भयोे । त्यस्तोलाई दुकान खोल भनेर बाबुआमाले पैसा दिन्छन । व्यापार गर्नलाई त सबैभन्दा बढि पढनु पर्छ।’
पूर्वगभर्नर नेपालले नेपालमा नपढनेहरुलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको उल्लेख गर्दै त्यसका लागि झनै धेरै अध्ययनको आवश्यक हुने तर्क समेत गर्नुभयो । उहाँले माध्यामिक शिक्षा सकिएपछि दुई वर्ष कडा मेहनतका साथ अध्ययनको काम अघि बढाउने विद्यार्थीहरुको भविष्य आफूले नेपालमा राम्रो देखेको बताउनुभयो ।






प्रतिक्रिया