काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गर्नुभएको छ। ढकालले सदस्यले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनुभएको हो। नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकालमा पाँच काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महासङ्घका नवनिर्वाचित नेतृत्वले पदवहाली गर्ने कार्यक्रममा उहाँले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै उहाँले गाँउबाट आएको सानो व्यवसायी पनि महासङ्घको नेतृत्वमा आउन सक्दो रहेछ भन्ने कुराको उदाहरण आफू स्वयम् भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महासङ्घमा साना व्यवसायीहरुको प्रतिनिधित्व हुँदैन कि भन्ने साथीहरुलाई चिन्ता छ । म आफैँ पनि सानो व्यवसाय गरेर महासङ्घको नेतृत्वमा आएको छु । साना व्यवसायी र सबै खालका व्यवसायीको प्रतिनिधित्व हुन्छ । मैले पाँच बुँदे प्रतिबद्धता पनि घोषणा गरेको छु । सरकारले पनि ती काम गर्न सहयोग गर्ने विश्वास लिएको छु।”
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गर्नुभएका पाँच प्रतिबद्धतामा आफ्नो साथ रहेको बताउनुभयो । महासङ्घमा दुई कार्यकाल सदस्य रहनुभएका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ।
महासङ्घको गत चैत २८ र २९ मा सम्पन्न भएको ५७औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित हुनुभएको थियो । निर्वाचनबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित हुनुभएको छ भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको थियो ।






प्रतिक्रिया