अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ निर्माणभन्दा भएका सडक व्यवस्थित गरिँदै

नयाँ निर्माणभन्दा भएका सडक व्यवस्थित गरिँदै


काठमाडौँ – नयाँ सडक खन्ने काममा जोड दिँदै आएको सडक विभागले पछिल्लो समय भइरहेका सडकको विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माणलाई प्राथमिकता दिन थालेको छ।  विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती जडान, ‘फ्लाई ओभर’ निर्माण, सुरुङलगायत संरचनाको अध्ययन, आधुनिक पुल निर्माणलगायतमा केन्द्रित भएको पाइएको छ।

सरकारको रणनीति परिवर्तन भएर भइरहेका राजमार्गहरु विस्तारले प्राथमिकता पाइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो । उहाँका अनुसार सडक यातायात सबैभन्दा महत्वपूर्ण भएकाले अहिले प्राथमिकता राष्ट्रिय राजमार्गको  विस्तार भएको बताउनुभयो । उहाँले बताउनुभयो, “पूर्व–पश्चिम राजमार्ग, मुग्लिन-पोखरा राजमार्गलगायत चार लेनमा विस्तार भइरहेको छ।”

काठमाडौँमा उपत्यकामा यातायातलाई चुस्त बनाउन र  चोक (इन्टरसेक्सन)मा हुने ढिलाइ न्यूनीकरण गर्दै सवारी चाप कम गर्न आवश्यक ठाउँमा फ्लाई ओभर निर्माण गर्ने नीति रहेको विभागले जनाएको छ । पछिल्लो चरणमा प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि आवश्यक ठाउँमा फ्लाई ओभर निर्माण र ट्राफिक बत्ती व्यवस्थापन, आवश्यक ठाउँमा भइरहेका सडक विस्तार र स्तरोन्नति गर्ने सरकारको नीति रहेको महानिर्देशक ढकालले बताउनुभयो ।

राष्ट्रिय राजमार्गको मर्मतसम्भार गर्ने, स्तरोन्नति गर्ने, नयाँ राजमार्गको निर्माण गर्ने र भएका सम्पत्तिको संरक्षण गर्ने र नागरिकलाई सर्वसुलभ किफायती यातायात संरचना निर्माणमा काम भइरहेको उहाँको भनाइ छ।

चालु आवमा ग्वार्खोमा फ्लाइओभर र सिद्धबाबामा सुरुङमार्ग सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । लामो समयदेखि सिद्धार्थ राजमार्गको त्यो खण्डमा नागरिकले दुःख पाइरहेकाले त्यसलाई सुधार गर्न सिद्धबाबामा सुरुङ बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाबाट पूर्वतर्फ जाने सवारीसाधनको चाप कम गर्न सरकारले सूर्यविनायकदेखि धुलिखेल सडक विस्तारको काम अघि बढाइएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ बजारमा ठूलो सिग्नेचर पुल बनाउन तथा मुग्लिन–पोखरा सडक, नागढुङ्गाबाट नौबिसे हुँदै मुग्लिन सडक स्तरोन्नति सुरु भइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वमा काँकडभिट्टादेखि लौकहीसम्म र कमलाबाट ढल्केबर सडक सुरु गर्ने चरणमा रहेको छ ।”

राष्ट्रिय गौरवका आयोजनाहरुको लक्षित समय नजिकिए पनि सम्पन्न हुने चरणमा पुगिसकेका छैनन् । ती आयोजनामा लक्ष्य कोभिड सङ्क्रमण सुुरु हुनुभन्दा पहिले लिइएको भए पनि दुई÷तीन आर्थिक वर्ष कोभिडले र अरू विभिन्न कारणले अवरोध सिर्जना गरेकाले मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्ग निर्धारित समयमा सम्पन्न हुने नदेखिएको प्रवक्ता अधिकारीले बताउनुभयो । त्यसलाई कहिलेसम्म सम्पन्न गर्न सकिन्छ भनी नयाँ लक्ष्य निर्धारण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय गौरवका आयोजनातर्फ मध्यपहाडी राजमार्गमा यो वर्ष ४२ किमी सडक कालोपत्र भएको छ भने चारवटा पुल सम्पन्न भएको छ । हुलाकी राजमार्गममा ३६ दशमलव पाँच किमी सडक सम्पन्न भएको छ भने सात पुल सम्पन्न भएको छ ।

उत्तर–दक्षिण करिडोरमध्ये कालीगण्डकी करिडोरमा प्रगति बढी देखिएको छ । सो करिडोरमा १० किमी सडक कालोपत्र, ३० किमी सडक ग्राभेल भएको छ भने चारवटा पुल सम्पन्न भएको छ । कोशी करिडोरमा १५ किमी सडक ग्राभेल भएको छ र एउटा पुल सम्पन्न भएको छ । कर्णाली करिडोरमा साढे तीन किमी ट्र्याक खोलिएको छ भने ३८ किमी सडकको ट्र्याक चौडा गरिएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत चालु आवमा थप छ किमी कालोपत्र भएर जम्मा दुई सय ६५ किमी सडक सम्पन्न भएको छ । राजमार्गमा पर्ने एक सय ८५ पुलमध्ये ९९ सम्पन्न भएको छ । नागढुङ्गा सुरुङमार्गमा पाँच किमी चार सय ९९ मिटरमध्ये चार किमी दुई सय ७५ दशमलव ४५ मिटर सुरुङ खनिसकिएको र नौ सय ७७ दशमलव सात मिटर सुरुङ कङ्क्रिट लाइनिङ गर्ने काम सकिएको छ । अहिलेसम्म तीन अन्डरपास, चार कल्भर्ट, एक ओभरपास र तीन पुल सम्पन्न भइसकेको छ ।

नारायणगढ–बुटवल सडकमा २८ साना पुल र तीन प्रमुख पुलहरुको निर्माण सम्पन्न भएको छ । मुग्लिन–पोखरा सडकमा सात साना पुलहरुको निर्माण सम्पन्न भएको छ । सो सडकमा पर्ने मादी र सेती नदी पुल ठेक्का सम्झौता भएर हाल डिजाइन स्वीकृत हुने चरणमा रहेको छ । अहिलेसम्म मन्त्रालयको प्रगति झन्डै ३० प्रतिशत रहेको छ । प्रवक्ता अधिकारीले भन्नुभयो, “नयाँ बजेट बनाउँदा यी कुरा सुधारेर योजना बनाउनुपर्छ ।”

रातो किताबमा परेका कार्यक्रममा समस्या नभए पनि अरू योजनामा बजेटको समस्या आइरहेको उहाँको भनाइ छ । खासगरी राष्ट्रिय गौरवका आयोजनामा बजेटको समस्या रहेको छैन । विभागको प्रगति अहिलेसम्ममा ६०/६५ प्रतिशतभन्दा माथि जानुपर्नेमा अहिलेको प्रगति कम रहेको उहाँले बताउनुभयो ।

कोभिडभन्दा पहिले यो मन्त्रालयको प्रगति झन्डै ८० प्रतिशत खर्च हुने गरेको थियो । नेपाल सरकारको लगानीका योजनामा प्रगति ९० भन्दा बढी हुन्थ्यो र वैदेशिकको केही कम हुँदा पनि समग्रमा झन्डै ८० प्रतिशत पुग्ने गरेको थियो । कोभिड सुरु भएयता भने प्रगति कम रहेको छ । गत आवमा प्रगति ५७ प्रतिशत र त्योभन्दा पहिलेको वर्षमा ६७ प्रतिशत रहेको थियो।

मन्त्रालयले यातायात प्राधिकरणका लागि आवश्यक कानुन निर्माण अघि बढाएको छ । यातायात प्राधिकरणको नियमावली मस्यौदा तयार गरेर अर्थ मन्त्रालयमा सहमतिका लागि गएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले गर्ने काम गरिसकेको र सहमति आएपछि कानुन मन्त्रालयमा सहमतिका लागि जानेछ । कानुन मन्त्रालयबाट सहमति आएपछि मन्त्रिपरिषद्मा पेस हुने उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा दुई किमी रेल्वे ट्याकबेड र दुई रेल्वे पुल निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म साढे ५४ किमी ट्र्याक बेल्ट तयार भएको र सात रेल पुल सम्पन्न भएको रेल विभागले जनाएको छ । बर्दिवासदेखि निजगढको खण्डमा मात्रै निर्माणको काम भइरहेको विभागका महानिर्देशक रोकितकुमार बिसुरालले बताउनुभयो।

भारत सरकारको सहयोगमा निर्माण भएका रेलमार्गहरुमध्ये भारतको बथनाहादेखि विराटनगरको भन्सार कार्यालयसम्म र भारतको जयनगरदेखि बिजुलपुरासम्म रेलमार्गसम्म सम्पन्न भइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जयनगरदेखि कुर्थासम्म रेल चलिरहेको छ । कुर्थाबाट बिजुलपुरासम्म १७ किमीमा पनि रेल मार्ग सम्पन्न भइसकेको छ ।” रक्स्यौल–काठमाडौँ अध्ययन भएर प्रतिवेदन आउन बाँकी रहेको महानिर्देशक विसुरालले बताउनुभयो । काठमाडौँ-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ ।

Skip This