काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवा-चरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिनु भएको छ।
मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उहाँले मिटरब्याज पीडितहरूको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि हिजो (सोमबार) निर्मम ढंगले आक्रमण गरेकोमा निन्दा र भर्त्सना गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले मिटरब्याज पीडितहरू र अहिले तराईमा आन्दोलनरत रहेका हरूवाचरुवाहरू जो पुनर्स्थापनाको काम गरिराखेका छन् । उनीहरूको मागलाई सरकारले समयमै सम्बोधन गरोस् । अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले हामी सडक संघर्षमा जान बाध्य हुन्छौँ ।’
गरीब र निमुखा ती मानिसहरूमाथि किन आक्रमण गर्नु परेको भनी सरकारलाई अध्यक्ष लिङ्देनले प्रश्नसमेत गर्नुभयो । उहाँले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताउनु भयो ।






प्रतिक्रिया