अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत


रामपुर – दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यतिबेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिनुभएको छ।

दाँत नहुँदा अनुहारको चमक हराएको, गाला चाउरी परेको र खान पनि समस्या भएको भन्दै उहाँले कृत्रिम दाँत राखेपछि निकै सहज भएको अनुभव सुनाउनुभयो । उहाँको अनुहारमा देखिएको यो खुसी भने गाउँमा आयोजना गरिएको दन्तरोग विशेषज्ञ निःशुल्क शिविरका कारण उहाँले पाउनुभएको हो। 
पाल्पाको बगनासकाली गाउँपालिका–१ बस्ने तुलसा खनाल पनि रामपुरमा निःशुल्क कृत्रिम दाँत शिविर आयोजनामा नयाँ दाँत राख्न पाएपछि खुसी हुनुभएको छ। शिविरमा लामो यात्रा गरी आइपुग्नुभएकी उहाँ नयाँ दाँत राखेपछि उमेर नै घटेको जस्तो भान भएको बताउनुभयो । 

पाल्पाको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले ट्राभल डेन्टिष्ट्री नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क कृत्रिम दन्त शिविरबाट यहाँका ज्येष्ठ नागरिकले सुविधा पाउनुभएको छ।  
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शिविरमा सहभागीलाई दाँत हस्तान्तरण गर्दै नयाँ दाँतले सुरुमा केही अप्ठ्यारो अनुभुती भएपनि नियमित प्रयोग गर्दै गएपछि सहज हुने बताउनुभयो । 
नयाँ दाँत राख्न महङ्गो पर्ने भएपछि ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क शिविर आयोजना गरिएको कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले बताउनुभयो । 
एक महिनामा ६० जनाको नयाँ दाँत राखिएको ट्राभल डेन्टिष्ट्री नेपालका अध्यक्ष डाक्टर शङ्कर श्रेष्ठले जानकारी दिनुभयो । नयाँ दाँत राख्न डराउने, छाला, हड्डीसम्बन्धी समस्या भएका बिरामीलाई उपचार गरी दाँतको महत्वबारे परामर्श लिएर कृत्रिम दाँत राख्न उप्रेरणा गरेको उहाँको भनाइ छ । 

शिविरमा २१ जना दन्त रोग विशेषज्ञ डाक्टरसहित ३१ जना स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो । एक जनाको पूरै दाँत राखेको न्यूनतम रु ३० हजारदेखि रु ४० हजारसम्म खर्च हुने गरेको छ । शिविरमा रामपुर नगरपालिका, निस्दी, बगनासकाली र रम्भा गाउँपालिकाका नागरिकले सेवा लिएका छन् । 

Skip This