काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेकपा (एमाले) को सदस्य तथा वरिष्ठ नेताको हैसियतमा पार्टी बैठकमा सहभागी भएकी छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको स्थायी कमिटी बैठकअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथग्रहणपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको हो।
असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो। वरिष्ठ नेताको हैसियतमा उनले पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागिता जनाएकी हुन्। एमाले विधानअनुसार वरिष्ठ नेताले पार्टीका सबै कमिटी बैठकमा सहभागी हुन पाउने व्यवस्था छ।
भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेको सक्रिय राजनीतिबाट बाहिरिएकी थिइन्। दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनको कार्यकाल २०७९ फागुन २८ गते सकिएको थियो। त्यसपछि उनी पुनः एमाले राजनीतिमा फर्किन इच्छुक देखिएकी थिइन्।
गत जेठमा बसेको एमाले केन्द्रीय पदाधिकारी बैठकले लामो समयदेखि रोकिएको उनको पार्टी सदस्यता फुकुवा गर्ने निर्णय गरेको थियो। त्यसपछि उनी पुनः पार्टी गतिविधिमा सक्रिय हुन थालेकी थिइन्। पछिल्लो केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएसँगै एमालेभित्र उनको औपचारिक पुनरागमन भएको छ।
स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका एजेन्डामाथि छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।



प्रतिक्रिया