अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुससँगको सम्बन्धलाई महत्त्व दिन्छौँ: अध्यक्ष तिमिल्सिना

रुससँगको सम्बन्धलाई महत्त्व दिन्छौँ: अध्यक्ष तिमिल्सिना


काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई महत्त्व दिँदै आएको बताउनुभएको छ। 

रुसको औपचारिक भ्रमणका क्रममा आज त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानमा विद्यार्थीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी रुससँगको हाम्रो सम्बन्धलाई उत्कृष्ट तरिकाले महत्त्व दिन्छौँ, विकासोन्मुख देशका रूपमा नेपालका लागि रुससँगको सम्बन्ध सुदृढ गर्ने ठूलो अवसर छ।”

अध्यक्ष तिमिल्सिनाले छिमेकी चीन र भारतले हालै रुससँग आफ्नो व्यापारको मात्रा बढाएका चर्चा गर्दै नेपाल र रुसबीचको व्यापार र रुसबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढाउने उपाय पनि खोज्ने आशा व्यक्त गर्नुभयो। 

उहाँले कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच विविध क्षेत्रमा सहकार्य हुँदै आएको बताउनुभयो। उहाँले सोभियत सङ्घले नेपाललाई अस्पताल, सडक, जलविद्युत् आयोजना र कारखाना निर्माणमा सहयोग गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो। 

बुद्ध धर्मले रुसका विभिन्न क्षेत्रमा एक सहस्राब्दीभन्दा बढी समयदेखि गहिरो प्रभाव पारेको उहाँको भनाइ छ। “उन्नाइसौँ शताब्दीमा रुसी वैज्ञानिकले नेपालमा बुद्ध अभ्यासको विशेष अध्ययन गर्न आवश्यक ठाने, सन् १८७५ मा महान् रुसी विद्वान इभान मिनाएभले बुद्ध धर्मका बारेमा आफ्नो अनुसन्धानका लागि काठमाडौँको भ्रमण गरे, यो आधुनिक इतिहासमा हाम्रो सम्बन्धको सुरुआत बिन्दु बन्यो”, उहाँले भन्नुभयो। 

उन्नाइसौँ र २० औँ शताब्दीका रुसी विद्वानले बौद्ध धर्ममा गरेका काम शैक्षिक क्षेत्रमा राम्रोसँग स्थापित भएका जनाउँदै उहाँले बुद्ध धर्मले नेपाल र रुसलाई औपचारिक सम्बन्ध स्थापना हुनुभन्दा धेरै पहिलेदेखि नै जोडेको बताउनुभयो। 

नेपालका तर्फबाट पहिलो पटक सन् १९५३ मा पूर्णबहादुर एमए, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समले तत्कालीन सोभियत सङ्घको भ्रमण गरेको स्मरण गर्दै उहाँले त्यसको तीन वर्षपछि मात्रै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बताउनुभयो।

“त्यसपछि हामीबीच धेरै उच्च आदानप्रदान भएका छन्। सन् १९६० देखि धेरै नेपाली विद्यार्थीले यहाँ अध्ययन गरेका छन्, रुसी तर्फबाट विशेषगरी नेपाल हिमालयका अग्ला चुचुरा आरोहण गर्ने धेरै अन्वेषक थिए”, उहाँले भन्नुभयो। 

रुसको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थान व्यावसायिक शैक्षिक कार्यका लागि विश्वभर धेरै व्यापकरूपमा परिचित रहेको थाहा पाउँदा आफू अत्यन्त खुसी रहेको जनाउँदै उहाँले संस्थानका विद्यार्थी, सङ्काय र सम्पूर्ण अनुसन्धाता विद्वानलाई अनुकरणीय कार्यका लागि बधाई दिनुभयो। 

अध्यक्ष तिलिम्सिना नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुस भ्रमणमा हुनुहुन्छ। त्यसक्रममा उहाँले शुक्रबार रुसको तल्लो सदन डुमाका अध्यक्षसँग भेटवार्ता गर्नुभएको थियो। रासस  

Skip This